दार्चुला तुइन घटना : छानबिन टोलीद्धारा घटनास्थल गँस्कु र मालघाट अवलोकन

दार्चुला तुइन घटना : छानबिन टोलीद्धारा घटनास्थल गँस्कु र मालघाट अवलोकन

दार्चुला । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको टोलीले घटनास्थल भारतको गँस्कु र नेपालको मालघाट अवलोकन गरेको छ । बिहीवार भारतीय बाटो हुदै भारततर्फकै घटनास्थल गँस्कु अवलोकन गरेको समितिले शुक्रवार नेपाली सेनाको हेलिकप्टरमार्फत ब्याँस गाउँपालिका—२ मालघाट पुगेको हो ।

उक्त टोलीले पीडित परिवारसँग छलफल र मालघाटको स्थलगत निरीक्षण गरेको छानबिन समिति सदस्य ज्योत्स्ना भट्टले जानकारी दिए । बिहीबार नेपालतर्फ स्थलगत रुपमा टोली अध्ययन गर्न नआएको भन्दै स्थानीय र नेकपा विप्लव समूहका कार्यकर्ताले नारा जुलुस समेत गरेका थिए । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन टोली गत मंगलबारदेखि दार्चुलामा छ ।

सहसचिव जनार्दन गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहेका छन् ।

छानबिन समितिको टोलीले बुधवार प्रत्यक्षदर्शी, मानवअधिकारकर्मी, पत्रकार, राजनीतिक दल र ब्याँस गाउँपालिकाका प्रतिनिधिहरु सँग छलफल गरेको थियो । छलफलपछि टोली घटनास्थलतिर प्रस्थान भएको हो । गृहमन्त्रालयले टोलीलाई १० दिन भित्र प्रतिवेदन बुझाउन भनेको छ ।

साउन १५ गते माल गाउँबाट सदरमुकाम खलंगा आउने क्रममा ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएका थिए । धामी वेपत्ता भएको ७ दिन बित्दासमेत शव भेटिएको छैन् । आफन्तले कूसको प्रतिमूर्ति बनाएर अन्त्येष्टि गरिसकेका छन् ।