पिकअप भ्यान दुर्घटनामा एकको मृत्यु,२८ जना घाईते

पिकअप भ्यान दुर्घटनामा एकको मृत्यु,२८ जना घाईते

सर्लाहीको लालबन्दीमा शुक्रवार दिउँसो फुटबल खेलाडी बोकेको पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ भने २८ जना भन्दा बढी घाईते भएका छन्। फुटबल खेल्नका लागि खेलाडी बोकेर लालबन्दी १६ परवानिपुरतर्फ जादैं गरेको प्रदेश–२–०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौर अगाडि दुर्घटनामा परेको हो । करिब ४ बजेको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिएका छन् । 

दुर्घटनामा परेर लालबन्दी नगरपालिका–९, बस्तीपुरका १७ वर्षीय प्रल्हाद दाहालको मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताएका छन् । दुर्घटनामा परेर गम्भिर घाईते भएका दाहालको उपचारका क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते भएका अन्य ६ जनालाई थप उपचारका लागि वीरगन्ज र भरतपुर रेफर गरिएको प्रहरी निरीक्षक थापाले बताए । 

अन्य २२ जना सामान्य घाईते भएका छन् । उनीहरुको लालबन्दी स्थित गढिमाई र मोडेल अस्पतालमा उपचार भइरहेको छ । स्थानिय अस्पतालमा उपचाररत रहेकाहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक थापाले बताएका छन् । दुर्घटना हुने पिकअप प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार छन् । घाईते भएकाहरुको अहिले सम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । त्यसैगरी लालबन्दीमै बिहीवार राती जम्बो हाइसको ठक्करबाट एकजना अपरिचित व्यक्तिको मृत्यु भएको छ । ठक्करबाट गम्भिर बनेको ति व्यक्तिको शुक्रवार बिहान मृत्यु भएको हो ।