कञ्चनपुरमा सुरुभयो ‘तपाईँको मास्क खोइ ?’ अभियान

कञ्चनपुरमा सुरुभयो ‘तपाईँको मास्क खोइ ?’ अभियान

कञ्चनपुर । शनिवारदेखि देशभर सञ्चालन गरिएको नेपाल मास्क अभियान अन्तर्गत सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम कञ्चनपुरको पुनर्वासमा पनि सुरुवात गरिएको छ ।

मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न सकियोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्न गराउन परिपत्र गरिएपछि अहिले देशभर यो अभियान सञ्चालन गर्न थालिएको छ ।

नेपाल मास्क अभियान अन्तर्गत कञ्चनपुरको पुनर्वास स्थित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको अगुवाइमा पुनर्वास नगरपालिका वडा नम्बर ९ बिचफाँटा गिरी चोकबाट ‘तपाईँको मास्क खोइ ?’ अभियान सञ्चालन गरिएको हो । पुनर्वास नगरपालिका र सँगसँगै अभियानको समेत समन्वयमा उक्त कार्यक्रम सुरुवात गरिएको हो । 

पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापा, वडा नम्बर ९ का वडाध्यक्ष नारायण प्रसाद जैसी, इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह विष्ट लगायत अन्य प्रहरी कर्मचारीहरू, सँगसँगैका प्रतिनिधिहरू, पत्रकार र स्थानीय नागरिकहरूको उपस्थितिमा “तपाईँको मास्क खोइ ?, नेपाल मास्क अभियान, महामारी नियन्त्रण तथा रोकथाममा मेरो प्रतिबद्धता; मास्क लगाउनु नै हो आजको आवश्यकता,  म पनि मास्क लगाउँछु र अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु, म जिम्मेवार नेपाली” लगायतका नारा सहित मास्क लगाऔँ अभियानको सुरुवात गरिएको छ । 

कार्यक्रममा जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन अनुरोध गर्दै मास्क नलगाई सवार गरेका सवारी चालक तथा पैदल यात्रुहरूलाई मास्क वितरण तथा कोभिड १९ को जोखिम सम्बन्धी सचेत समेत गराइएको छ ।

साथै वडा नम्बर ९ मा रहेको मुक्त हलिया सुरक्षित आवासमा रहेका ३९ घरधुरीमा बसोबास गरिरहेका महिला, बालबालिका, बृद्धबृद्धा र युवाहरूलाई मास्क वितरण तथा कोभिड १९ को सङ्क्रमणबाट बच्न जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्ने सम्बन्धी सचेतना दिइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिनुभयो ।