अनुमतिबिनै ड्रोन उडाउनुभएको त छैन ?

अनुमतिबिनै ड्रोन उडाउनुभएको त छैन ?

पछिल्लो समय ड्रोनको प्रयोग नेपाली बजारमा निकै हुने गरेको पाइन्छ । विभिन्न भिडियोहरुमा होस् वा सभा सम्मेलनमा, पर्यटकीय क्षेत्रमा ड्रोनको प्रयोग हुनेगरेको छ । सरकारले तोकेको मापदण्डविपरीत यदि तपाईंले ड्रोन उडाउनुभयो भने तपाईं कानुनी  झमेलामा पर्नुहुन्छ । नेपाल सरकारले सुरक्षा व्यवस्थामा असर नपुग्ने गरी ड्रोन उडान अनुमतिसम्बन्धी व्यवस्था गरेको छ । ड्रोन उडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान उपकरण दर्ता नम्बर लिनुपर्छ ।

ड्रोन उडाउनुको उद्देश्य, उपकरणको स्पेसिफिकेसन तथा म्यानुअलको फोटोकपी, कर तथा भन्सार बीजक आवश्यक पर्दछ । यसरी प्राप्त दर्ता नम्बर ड्रोनमा टाँस्नुपर्ने हुन्छ ।  कुटनीतिक नियोग, प्रतिष्ठान रहेको इलाका, अस्पताल, धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्वको इलाका, हवाई मार्ग तथा हवाई उड्डययन सञ्चालन क्षेत्र, सैनिक तथा सुरक्षा निकाय रहेको क्षेत्रमा ड्रोन उडाउन प्रतिबन्ध छ ।

साथै विमानस्थल,अन्तर्राष्ट्रिय सीमानाको पाँच किलोमिटर क्षेत्र, माइतिघर मण्डला, स्वयम्भू नाथ, पशुपतिनाथ, बौद्धनाथ, बुढानिलकण्ठ, दरबार स्क्वायर क्षेत्रलगायतका धार्मिक तथा पुरातात्विक सम्पदा क्षेत्रमा समेत ड्रोन उडाउन पाइँदैन । सिंहदरबार क्षेत्र, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट पदाधिकारीहरुको कार्यालय तथा निवास रहेको क्षेत्रको एक किलोमिटर वरपरसम्मलाई पनि ड्रोन उडाउन पाइँदैन ।

निषेधित क्षेत्रमा ड्रोन उडाए ड्रोन जफत गरी कानुनअनुसार कारबाही हुने व्यवस्था रहेको छ । सरकारी नियमविपरीत वा अनुमति नलिई ड्रोन उडाएमा नागरिक उड्डययन प्राधिकरण ऐन तथा विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुन्छ । यदि कुनै व्यक्तिको गोपनीयताको हक हनन हुनेगरी ड्रोन उडाएमा पीडित पक्षको निवेदनमा कानुनअनुसार कारबाही हुने व्यवस्था गरिएको छ ।