महेन्द्रनगरमा बालमैत्री कोभिड अस्पताल शिलान्यास

महेन्द्रनगरमा बालमैत्री कोभिड अस्पताल शिलान्यास

कञ्चनपुरको महेन्द्रनगरमा बालमैत्री कोभिड अस्पतालको शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री लालबहादुर खड्काले आइतबार अस्पतालको शिलान्यास गरेका हुन् । अवसरमा उनले महाकाली, सेती र टीकापुर अस्पतालमा स्वास्थ्य सुविधा थप गर्नुका साथै संरचना निर्माण र उपकरणका निम्ति प्रदेश सरकार अग्रसर रहेको जानकारी दिए । सात पहाडी जिल्लामा पनि अस्पतालको उपकरण थप गर्नेदेखि महामारीलाई लक्षित गरी सेवा सुविधा थप गर्ने काम अघि बढेको छ उनले भने, सघन उपचार कक्ष भेन्टिलेटर लगायतका सुविधा पनि थपिँदैछन् ।

कोरोनामा तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुनसक्ने आँकलन गरिएका बेला प्रदेश सरकारले भने यहाँका नौवटै जिल्लामा बालमैत्री श्यया बनाउने र सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको तयारी अघि बढाएको छ । मन्त्रालयका अनुसार प्रत्येक पहाडी जिल्लामा अस्पतालमा १० श्यया र तराईको धनगढी, महेन्द्रनगर र टीकापुरमा ४० देखि ५० श्ययाको बालमैत्री श्यया थप गर्न लागिएको हो । अस्पतालमा रु ९१ लाखका ठेक्का सम्झौता भई निर्माणको थालनी भएको महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिए ।


यहाँ ४० देखि ५० श्याको अस्पताल बन्नेछ, उनले भने, उक्त अस्पताल निर्माणका लागि ४५ दिनको समय निर्माण कम्पनीलाई दिइएको छ । यसअघि पनि प्रदेश सरकारको सहयोगमा अस्पतालमा ५० श्याको कोभिड अस्पताल बनेको थियो ।  त्यसैगरी पछिल्लो केही दिनयता यहाँ अस्पतालमा कोरोना सङ्क्रमित बढ्न थालेका छन् । महाकाली अस्पतालमा हाल आठ जना सङ्क्रमितको उपचार भइरहेको छ ।