वीरगञ्जमा पटक–पटक विद्युत कटौती हुन थालेपछि जसपाले बुझायो ज्ञापनपत्र

वीरगञ्जमा पटक–पटक विद्युत कटौती हुन थालेपछि जसपाले बुझायो ज्ञापनपत्र

बढ्दो गर्मीको मौसममा वीरगञ्जमा पछिल्लो समय विद्युत कटौती हुन थालेपछि आइतबार जनता समाजवादी पार्टीले ज्ञापन पत्र बुझाएको छ। जसपा वीरगञ्ज महानगर कमिटीले विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुखलाई ज्ञापनपत्र बुझाएको हो। गर्मीका बेला अनियमित विद्युत कटौती गरेर नागरिकलाई दुःख दिने काम भइरहेकोले त्यसलाई समाधान गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएको जसपा महानगर कमिटी अध्यक्ष लियाकत अलिले जानकारी दिए।

पछिल्लो केही दिनदेखि प्राधिकरणले अघोषित रुपमा पटक–पटक विद्युत कटौती गर्दै आइरहेकोले स्थानीयहरु आर्जित भएका छन्। प्राविधिक समस्या आएर कटौती गर्नैपर्ने भए पनि सेवाग्राहीलाई जानकारी दिएर मात्र कटौती गर्न पर्नेमा प्राधिकरणले मनलाग्दी विद्युत कटौती गर्दै आइरहेको जसपाका युवा नेता मुकेश द्विवेदीले आरोप लगाए। अनियमित तरिकाले भइरहेको विद्युत कटौती नरोकिए आफूहरु आन्दोलनमा उत्रिने समेत युवा नेताहरुले ज्ञापन पत्रमार्फत चेतावनी दिएका छन्।