बझाङको साइपालमा झोलुङ्गे पुल बनेपछि आउजाउ र ढुवानी सहज

बझाङको साइपालमा झोलुङ्गे पुल बनेपछि आउजाउ र ढुवानी सहज

बझाङ । २०६८ सालमा साइपाल गाउँपालिकाकी ३५ वर्षीया देवि बोहोराको थरौनिघाट खोलाले बगाएर ज्यान गयो । खोलामा काठेपुल (साँघु) हाल्ने क्रममा उहाँले ज्यान गुमाउनु भएको थियो । उहाँले मात्रै हैन यो खोलाले बगाउँदा चाररपाँच जनाले ज्यान गुमाए । थुप्रै पशु चौपाया मरे ।

साइपालका–३ का प्रभात बोहोरालाई पनि यही खोलाले बगाएर ५०–६० मिटर तल पुर्यायो । ढुङ्गामा अड्किएर उहाँको ज्यान जोगियो । अहिले खोलामा झोलुङ्गे पुल निर्माण भएपछि साइपाल गाउँपालिकाका बासिन्दालाई यो दुःखबाट छुटकारा मिलेको छ । 

बोहोरा भन्नुहुन्छ,'चैनपुरबाट साइपाल फर्कने क्रममा खोलाले बगायो । झण्डै ६० मिटर जति बगाएपछि  ढुङ्गामा अड्किएँ र बाँचेँ । अहिले पुल निर्माण हुँदा निक्कै खुसी लागेको छ । यहाँका स्थानीयलाई ठूलो राहत मिलेको छ ।'

खोलामा राखिएको काठेपुललाई हटाएर पूर्वाधार विकास कार्यालयले ५५ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेपछि स्थानीयलाई आवतजावतमा सहज भएको हो । झोलुङ्गे पुल बनेपछि साइपाल गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ का नागरिकलाई खाद्यान्न ढुवानीसँगै आवतजावतमा सहज भएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु भयो। ‘तीन वटै वडाको मुख्य नाकामा झोलुङ्गे पुल निर्माण भएको छ ।

आउजाउ र ढुवानीमा सहज हुने आशा छ । काँडा, न्युना र धलौनमा अब कहिल्यै खाद्यान्न अभाव हुँदैन भन्ने विश्वास छ’ उहाँले भन्नुभयो । विशेषत बर्खाको समयमा सुत्केरी महिला, बिरामीलाई अस्पताल लैजानुपर्दा गाउँका सबैको सहयोगमा खोला वारपार गर्नुपर्ने समस्या अन्त्य भएको गाउँपालिका(३ का वडा अध्यक्ष जंगवीर बोहोराले बताउनु भयो ।

बोहोरा भन्नुहुन्छ, ‘सुत्केरी महिलालाई रेफर गरेर चैनपुरसम्म लैजानु परे खोला तार्नकै लागि गाउँका सबैजना जम्मा हुनुपर्थ्यो । अब यो समस्याबाट तीन वटै वडाका नागरिकहरुलाई छुटकारा मिलेको छ।'