धनगढीमा तीन महिने नेपाली सांकेतिक भाषा तालिमको समापन

धनगढीमा तीन महिने नेपाली सांकेतिक भाषा तालिमको समापन

धनगढी । धनगढीमा ३ महिने नेपाली सांकेतिक भाषा तालिमको समापन गरिएको छ । चैत महिनाको १ गतेदेखि सुरु भएको तालिमको सोमबार एक कार्यक्रमका विच समापन गरिएको हो । सामाजिक विकास मन्त्रालयको सहयोग र बहिरा संघ कैलालीको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको थियो ।

तिन महिने नेपाली सांकेतिक भाषा तालिममा सुदूरपश्चिम प्रदेशका ५ जिल्लाका १२ जना व्यक्तिहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । तालिम समापन कार्यक्रमको प्रमुख अतिथिबाट बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव रघुनाथ विष्टले बहिरा संघ कैलालीको प्रयास सह्रानीय भएको भन्दै प्रशंसा गरेका छन ।

तालिमले विभिन्न जिल्लामा रहेका बहिरा व्यक्तिहरुलाई सञ्चार क्षमता अभिवृद्धि गर्न यो तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा पनि तालिमको निरन्तरताका लागि मन्त्रालय सकारात्मक रहेको बताए । यस्तै कार्यक्रमका सभापति तथा बहिरा संघ कैलालीका अध्यक्ष दिनेश पनेरुले सुदूरपश्चिम प्रदेशमा १० हजार ५ सय को हाराहारीमा बहिरा व्यक्तिहरु रहेको बताए ।

उनका अनुसार यी व्यक्तिहरु शिक्षा, स्वास्थ्य, सीप, रोजगारी तथा मुख्य रुपमा सांकेतिक भाषा दोभाषे लगायतका समस्या भोग्दै आएका छन । हाल ५ जिल्लाका १२ जना व्यक्तिहरुले आधारभूत तालिम प्राप्त गरेका छन जुन पर्याप्त नभएको उनले बताए ।

त्यसकारण यस तालिमलाई आगामी बर्षको कार्यक्रममा पनि निरन्तरता दिन मन्त्रालय सँग अध्यक्ष पनेरुले आग्रह गरेका छन । यसैगरी थप दोभाषे उत्पादन गर्न र सो सीपलाई प्रयोगमा ल्याउन तालिम प्राप्त दोभाषेलाई रोजगारीको व्यवस्था गर्न बहिरा संघ कैलालीका अध्यक्ष पनेरुले माग गरेका छन ।

उक्त तालिम समापन कार्यक्रम बहिरा संघ कैलालीका अध्यक्ष दिनेश पनेरुको सभापतित्वमा सुरु भएकोमा प्रमुख अथिति सामाजिक विकास मन्त्रालयका सचिव रघुनाथ विष्ट रहेका थिए । भने कार्यक्रमको सञ्चालन बहिरा संघ कैलालीका सचिव विजय साउँदले गरेका हुन ।