कैलालीमा आन्तरिक राजस्व बिभागको स्टिकरसहित ५ जना पक्राउ

कैलालीमा आन्तरिक राजस्व बिभागको स्टिकरसहित ५ जना पक्राउ

धनगढी । कैलाली प्रहरीले आन्तरिक राजस्व विभागको स्टिकरसहित पाँच जनालाई पक्राउ गरेको छ । आन्तरिक राजस्व विभागको स्टिकर दुरुपयोग गरेको अभियोगमा कैलालीको गौरीगंगा नगरपालिकाबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा, भारत बस्ने वर्ष १९ का संजित कुमार, वर्ष २० का रिङ्कु कुमार, रौतहट गरुडा नगरपालिका–१ जयनगर बस्ने वर्ष ४० का राजकुमार शाह, पर्सा विरगंज नगरपालिका १३ घन्टाघर बस्ने वर्ष ५५ का विजय गुप्ता र जिल्ला लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा भारत बस्ने वर्ष २२ का सुरेशकुमार रहेका छन ।

मोटरसाइकलमा सवार रहेका संजित कुमारलाई कैलालीको गौरीगंगा नगरपालिका ७ स्थित तालबन्द सडकखण्डमा चेकजाँच गर्दा आन्तरिक राजस्व बिभाग लेखिएको ७७ रोल (२,८८,६७४ स्टिकर) फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए । प्रारम्भिक अनुसन्धानको क्रममा उक्त स्टिकरका रोलहरुमध्ये १३ रोल स्टिकरमा एउटै सिरियल नम्बर भेटिएको उनले बताए ।

नम्बर भएका स्टिकर पटक पटक दोहोरिएको पाइएको र उक्त स्टिकर जिल्ला कैलाली गौरीगंगा नगरपालिका ७ मसुरियास्थित वेष्टर्न लिकर्स प्रा.लि.बाट ल्याएको खुलेको कैलाली प्रहरीले जनाएको छ । साथै उनीहरु बस्ने कोठामा खानतलासी गर्दा छाप र स्ट्याम प्याड पनि फेला परेको छ ।

आन्तरिक राजश्व कार्यालय धनगढीसंग समन्वय गर्दै प्रहरी टोलीले वेष्टर्न लिकर्स प्रालि सिल गरेको छ । पक्राउ परेका ५ जनासहित बरामद स्टिकर, छाप, स्ट्याम प्याड र मसीसमेत आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय धनगढी पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।