अछाममा भालु र बाघको आक्रमणबाट दुई जना घाइते

अछाममा भालु र बाघको आक्रमणबाट दुई जना घाइते

अछाम । अछाममा भालु र बाघको आक्रमणबाट २ जना घाइते भएका छन् । जिल्लाको मङ्गलसेन र कमलबजारमा भएका छुट्टाछुट्टै घटनामा २ जना घाइते भएका हुन् ।

जिल्लाको मङ्गलसेन नगरपालिका वडानं १ भट्टेमा भालुको आक्रमण बाट ५६ वर्षीय रतने राना घाइते भएका हुन् ।घर नजिकै बारीमा घाँस काट्ने क्रममा ५६ वर्षीय रानालाई सोमबार भालुले आक्रमण गरेको वडा सदस्य पूर्ण बहादुर रानाले जानकारी दिनुभयो ।

घाइते रानाकाे हात , खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ, भने उहाँको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भैरहेकाे छ ।यस्तै जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ७ सेराको झालतडीमा बाघको आक्रमणबाट करिब ४५ वर्षीय लवराज अधिकारी घाइते भएका छन् ।

आक्रमणबाट अधिकारीको पाखुरामा गहिरो चोट लागेको स्थानीयले बताएका छन् ।हिजो मकैबारीमा आएको बँदेल धपाउन जाने क्रममा बाघले आक्रमण गरेको थियो ।

उहाँको कमलबजार स्वास्थ्य चौकीमा सामान्य उपचार गरेपछि अहिले जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भैरहेकाे उहाँका दाजु पदमराज अधिकारीले बताउनुभयो ।

अछामका अधिकांश लेकाली भेगहरूमा बँदेल, भालु दुम्सी, स्याल लगायत जङ्गली जनावरहरूले बर्षेबाली नष्ट गर्दै आएको हुँदा किसानहरू सास्ती खेप्दै आएका छन् ।