नेप्से सामान्य बढ्यो, जलविद्युत् समूहमा फेरि हरियाली

नेप्से सामान्य बढ्यो, जलविद्युत् समूहमा फेरि हरियाली

शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज शून्य दशमलव ९४ अङ्कले बढेर तीन हजार एक सय ६२ दशमलव ५९ विन्दुमा पुगेको छ ।

आज होटल समूहको शेयर एक सय तीन अङ्कले  बढेको छ । यस्तै जलविद्युत् समूह एक सय ४४ अङ्कले, माइक्रोफाइनान्स आठ अङ्कले, जीवन बीमा समूहको शेयर १० अङ्कले र निर्जीवन बीमा समूहको शेयर ४३ अङ्कले बढेको छ । बैंक, विकास बैंक, व्यापार, फाइनान्स, अन्य र उत्पादन समूहको शेयर भने घटेको छ ।

आज आईसीएफसी फाइनान्स, रिडी हाइड्रो, रुरु जलविद्युत्,  जीवन विकास लघुवित्त, युनियन लाइफ र नेपाल इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेको छ । हिजो सामान्य घटेको जलविद्युत् समूहमा आज फेरि हरियाली देखिएको छ ।

आज जानकी फाइनान्सको शेयर सबैभन्दा धेरै झन्डै चार प्रतिशतले घटेको छ । आज दुई सय ३० कम्पनीका दुई करोड ७२ लाख ९८ हजार कित्ता शेयर १५ अर्ब ४५ करोड ५५ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ६८ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।