डब्ल्युएचओले कोरोनाविरुद्धको तीनवटा औषधिको क्लिनिकल ट्रायल गर्ने

डब्ल्युएचओले कोरोनाविरुद्धको तीनवटा औषधिको क्लिनिकल ट्रायल गर्ने

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोनाविरुद्धको उपचारमा प्रभावकारी औषधिको खोजीका क्रममा तीन नयाँ औषधिको क्लिनिकल ट्रायल गर्ने भएको छ। 

डब्ल्युएचओले ‘सोलिडारिटी प्लस’ कार्यक्रममार्फत् तीनवटा औषधिको ५२ देशमा क्लिनिकल ट्रायल गर्न लागेको हो। अस्पताल भर्ना भएका कोरोना संक्रमितहरुमाथि आर्टीसुनेट, इम्याटिनिब र इनफ्लिक्सिम्याब औषधिको क्लिनिकल ट्रायल गरिने भएको हो। 

यी तीन औषधिलाई डब्ल्युएचओको एक स्वतन्त्र प्यानलले कोरोनाबाट हुने मृत्युदर घटाउन सकिने आशामा ट्रायलका लागि छनोट गरेको हो। आर्टीसुनेट मलेरियाका गम्भीर बिरामीको उपचारका लागि प्रयोग हुँदै आएको छ। यस्तै इम्याटिनिब कुनै खास किसिमको क्यान्सरको उपचारका लागि प्रयोग हुने गरेको छ भने इनफ्लिक्सिम्याब औषधि जोर्नीको दुखाई तथा रोग प्रतिरोधी क्षमता वृद्धिका साथै विभिन्न रोगको उपचारमा प्रयोग हुने गरेको छ। 

डब्ल्युएचओका प्रमुख डा। टेड्रोस एडहानोम घेब्रेयससले जेनेभामा पत्रकार सम्मेलन गर्दै कोरोनाको अझै प्रभावकारी र सहज उपचारका लागि तत्कालै विभिन्न अनुसन्धान आवश्यक रहेको बताए। उनले कोरोनाविरुद्धको उपचारका लागि अक्सिजन, डेक्सामेथासोन तथा आईएल–सिक्स पहिलेदेखि नै रहेकाले नयाँ र प्रभावकारी औषधिको तत्काल अनुसन्धान आवश्यक रहेको बताए।  विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हिजोसम्ममा विश्वभर कोरोना संक्रमणका २० करोड ३० लाखभन्दा धेरै केस देखिइसकेका छन्। 

विश्वभर पछिल्लो ६ महिनामा मात्रै १० करोड कोरोना संक्रमित थपिएका हुन्। ‘सोलिडारिटी प्लस’ विश्व स्वास्थ्य संगठनका १ सय ९४ सदस्य देशको सबैभन्दा ठूलो वैश्विक सहयोग कार्यक्रम हो। जसमा ६ सयभन्दा धेरै अस्पताल तथा हजारौं अनुसन्धानकर्ताले काम गरिरहेका छन्।