भारतबाट कोभिशिल्ड चाँडै प्राप्त हुँदैछ : राज्यमन्त्री श्रेष्ठ

भारतबाट कोभिशिल्ड चाँडै प्राप्त हुँदैछ : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भारतबाट खरिद गरी भुक्तानी गरिएको कोभिडविरुद्ध कोभिशिल्ड चाँडै प्राप्त हुने बताउनुभएको छ । अघिल्लो सरकारले उक्त खोपका लागि रकम दिइसकेको थियो ।

उहाँले खोपलाई दुरुपयोग गर्ने वा तोकिएका व्यक्तिलाई नदिएर भण्डारण गर्नेलाई कारबाही गर्न आफूले गृहमन्त्रीलाई आग्रह गरेको पनि जानकारी गराउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य राज्यको दायित्व भएकाले यसमा सरकारले लगानी वृद्धि र पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा आफ्नो वक्तव्यमाथि सांसदहरुका प्रश्नका जवाफ दिने क्रममा उहाँले अबका दिनमा स्वयंसेवक परिचालन गरी गाउँ र नगरस्तरीय खोप केन्द्र सञ्चालन गरिने जनाउनुभयो ।

कक्षा १२ को परीक्षा सञ्चालन गर्दा महामारी फैलन सक्ने भएकाले परीक्षा स्थगन गरिएको बताउनुभयो । उहाँले अनलाइनबाट खुला परीक्षाजस्ता विकल्पमा उक्त परीक्षा सञ्चालन गर्न सकिने जनाउनुभयो । उहाँले धेरै अस्पतालमा अक्सिजन प्लान्ट राख्ने नीति लिएको र सोका लागि निजी अस्पतालले चाहेमा ५० प्रतिशत रकम अनुदान दिने जानकारी दिनुभयो ।

उहाँले कोरोना रोकथामका लागि सर्वपक्षीय र उच्चस्तरीय समिति गठनका विषयमा गम्भीररूपमा सोचिएको बताउनुभयो । उहाँले कोभिडको तेस्रो लहरको खतरालाई ध्यान दिएर बालबालिका केन्द्रित अस्पताल र उपचार पद्धतिको उचित व्यवस्थापन गर्ने बताउनुभयो ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपीनाथ मैनालीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘स्टाण्डर्स नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६’ सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गर्नुभयो ।