कैलालीमा नगद ५४ हजार सहित ८ जुवाडे पक्राउ

कैलालीमा नगद ५४ हजार सहित ८ जुवाडे पक्राउ

धनगढी । कैलाली प्रहरीले जुवातास खेल्दै गरेका जुवाडेलाई पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका-१ मनहरा स्थित गणेश मडैको पसलमा तास खेल्दै गरेको अवस्थामा प्रहरीले ८ जुवाडे पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा गोदावरी नगरपालिका १ मनहारका खडक खडका, सोही ठाउँका गणेश मडै, कृष्ण बहादुर बिष्ट र दुर्गा दत्त भट्ट रहेका छन । यस्तै सोही ठाउँ बस्ने एकेन्द्र देउबा, प्रदीप पन्त, दिर्घराज अवस्थी र महेद्र थापालाई नगद ५४ हजार ७४० रुपैंया सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।

यसैगरी उनीहरुको साथबाट ७ गड्डी तास समेत बरामद गरिएको उनले बताए । कोठामा जुवा तास खेली रहेको भन्ने सुचना आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरु माथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।