डोटीमा दैनिक विद्युतभार कटौतीले उपभोक्ता समस्यामा

डोटीमा दैनिक विद्युतभार कटौतीले उपभोक्ता समस्यामा

डोटी । जिल्ला सदरमुकाम सिलगढी, पुरानो क्षेत्रीय सदरमुकाम राजपुर, पिपल्ला तथा दिपायलमा दैनिक भइरहेको विद्युतभार कटौतीले उपभोक्ता मारमा परेका छन् ।  विशेषगरी यहाँका मिल तथा इलेक्ट्रोनिक व्यवसायी बढी मारमा परेको केबी स्टिल तथा फर्निचर उद्योगका दिपायल पिपल्लाका व्यापारी कमरुद्दिन हुसेनले जानकारी दिए । उनले भने, “दैनिक विद्युत् अनियमितताका कारण मिल तथा उद्योग व्यवसायी बढी मारमा परेका छौँ ।”

मिनेट मिनेटमा बिजुली बत्ती आउने र जाने समस्याले स्थानीयले दुःख पाइरहेको गुनासो विद्युत् प्राधिकरणमा जानकारी गर्दा पनि सुनुवाइ नभएको यहाँका व्यवसायीकोे आरोप छ । अघोषित रुपमा भइरहेको विद्युतभार कटौतीले गर्दा यहाँ नागरिकको आक्रोश र गुनासो दिन प्रतिदिन बढिरहेको दीपक इलेक्ट्रोनिक तथा सप्लायर्सका प्रमुख दीपकबहादुर भण्डारीले बताए ।

उनका अनुसार साँझ र बिहान पख तालिका विना अघोषित विद्युतभार कटौती हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परिरहेका छन् । विद्युत् अनियमितताका कारण एफएम रेडियो तथा पत्रपत्रिका पनि समयमा प्रकाशन तथा प्रसारण हुन नसकेको नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष मोहन शाहीले जानकारी दिए । पछिल्लो समय विद्युत् अनियमितताका कारण बैंक तथा  सहकारीमा असर पुगेको राष्ट्रिय वाणिज्य बैंक दिपायलका प्रबन्धक गणेशबहादुर विष्टले बताए ।

उनले भने, “दैनिक विद्युत् कटौतीले बैंकमा आउने सेवाग्राहीलाई समस्या हुने गरेको छ, खाता खोल्नदेखि रकम भुक्तानीमासमेत समस्या हुने गरेको छ ।”  विद्युत् क्षणमा आउने क्षणमा जाने हुँदा वैकल्पिक ऊर्जाका रुपमा प्रयोग गरिने जेनेरेटर पनि खोल्ने र बन्द गर्ने अनावश्यक सास्ती मात्रै भइरहेको पिपल्लाका मिल व्यवसायी मोहन मलासीले बताए । उनले भने, “मिलमा पिठो तथा तेल पेल्न राखिएको हुन्छ त्यसैबेला बत्ती जान्छ जेनेटर खोलौँभन्दा बत्ती आउँछ, बन्द गर्दा विद्युत् जान्छ, दैनिक निकै समस्या भएको छ ।”

विद्युत् कार्यालय दिपायलका प्रमुख कुम्भराज जोशीले वर्षासँगैको हावाहुरीका कारण पुराना विस्तार गरिएका विद्युत् तारमा रुखका हाँगा लाग्ने र फल्ट बढी हुने भएका कारण विद्युत् अनियमितता भएको र यो समस्या चाँडै समाधान गर्नतर्फ पहल भइरहेको बताए ।

उनले भने, “विद्युत् तार अव्यवस्थित छन्, सानो वर्षा हुँदा र हावा चल्दा तारमा छुने भएकाले विद्युत् जाने आउने गरेको हो, नयाँ तार बिस्तारका लागि बजेट छैन तैपनि हामी सकेसम्म समस्याको समाधानका लागिपरेका छौँ ।” विद्युत नियमितताका लागि यहाँका उपभोक्ताले सम्बन्धित निकाय तथा प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश गर्दासमेत समाधान नभएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताए ।

उनले भने, “जिल्लाका अन्य ठाउँमा पनि पुरानै तार बिस्तार छन् ।  दिपायल र सिलगढीमा मात्रै विद्युत् अनियमितता हुने गरेको छ, उक्त समस्यामा समाधानका लागि सबै निकायमा आग्रह गर्दा पनि कसैले वास्ता गरेनन् ।”