साँफेबगरका १४ वटै वडाका भूमिहीनको तथ्याङ्क सङ्कलन गरिँदै

साँफेबगरका १४ वटै वडाका भूमिहीनको तथ्याङ्क सङ्कलन गरिँदै

अछाम । अछामको साँफेबगर नगरपालिकाका १४ वटै वडाका भूमिहीनको तथ्याङ्क सङ्कलन हुने भएको छ । हरेक राजनीतिक दलका दस्ताबेज, चुनावी घोषणा पत्रहरू, सरकारी नीति तथा कार्यक्रमहरूमा समेत भूमि सुधारको मुद्दा प्राथमिकतामा पर्दै आएको वर्षाै बिते पनि  कार्यान्वयन भने हुन सकेको छैन । तर साँफेबगर नगरले भने ढिलै भए पनि भूमिहीनको तथ्याङ्क सङ्कलनको लागि अग्रसरता देखाएको छ । 

एफएमडिसिद्वारा सञ्चालित पारस्परिक जबाफदेहिता परियोजनाको आयोजनामा भएको साझेदारी मञ्च छलफलमा साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरले साँफेबगरमा गठित नागरिक समाज सञ्जाललाई नगरका सम्पूर्ण वडाको भूमिहीनको तथ्याङ्क सङ्कलन गर्नको लागि आग्रह गर्नुभएको छ । 

भूमिहीनलाई जग्गाधनी बनाउने नगरपालिकाको लक्ष्य रहेको नगरप्रमुख कुँवरको भनाई रहेको छ । मष्टमान्डौं रेडियो श्रोता क्लबले मष्टमान्डौं २८ परिवारको भूमिहीनको सङ्ख्या  सङ्कलन गरेको थियो । नागरिक समाज सञ्जाल र पारस्परिक जबाफदेहिता परियोजनाले भने ७ जना भूमिहीनलाई मात्रै जग्गाका व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको थियो । 

साँफेबगर नगरप्रमुख कुँवरले नगरका १४ वटै वडाका भूमिहीनको तथ्याङ्क सङ्कलन गरेर नगरपालिकालाई प्रतिवेदन बुझाउन आग्रह गर्नुभएको छ । उहाँले वडाका वास्तविक भूमिहीनको तथ्याङ्क सङ्कलन भएमा कुनै न कुनै माध्यमबाट भूमिहीनको व्यवस्थापन गर्न सहज हुने बताउनुभयो ।

सबै भूमिहीनलाई जग्गाको व्यवस्थापन गर्न नसके पनि कसैलाई रोजगारी, कसैलाई सीपमूलक तालिमका माध्यमबाट आत्मनिर्भर बनाउनको लागि नगरदेखि भूमिहीन क्षेत्रका काम गर्दै आएका सरकारी कार्यालयसँग समन्वयको लागि नगरपालिकाले पहल गर्ने नगर प्रमुख कुँवरले बताउनुभयो । 

यस्तै सबैभन्दा बढी समस्यामा रहेका भूमिहीनलाई जग्गा उपलब्ध गराएर जनता आवास कार्यक्रममार्फत आवास निर्माण गर्न पनि सकिने नगरप्रमुख कुँवरको भनाई रहेको छ । 

भूमिहीनको तथ्याङ्क सङ्कलन गर्न ढिलाइ भएको स्वीकार गर्दै नगर प्रमुख कुँवरले नागरिक समाज सञ्जाललाई वास्तविक विवरण चाँडो ल्याउन आग्रह गर्नुभएको छ । उहाँले भूमिहीनको तथ्याङ्क सङ्कलनको लागि आवश्यक सहयोग नगरपालिकाबाट हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । 

कार्यक्रममा सहभागी साँफेबगर नगरपालिका प्रवक्ता बाल गिरी कुँवर, वडा नं.३ सिद्देश्वरका अध्यक्ष कृष्ण बुढा, वडा नं.५ नवाठानाका अध्यक्ष उजिर सिंह साउद, वडा नं.७ रिडिकोटका अध्यक्ष मिठ्ठु सिंह भाटले भूमिहीनको तथ्याङ्क सङ्कलन गर्ने कार्यमा वडाबाट पनि सहयोग हुने धारणा व्यक्त गर्नुभएको छ ।

वडा नं.४ मष्टमान्डौं वडा सदस्य राजेन्द्र कोलिले भूमिहीन नागरिक सबैभन्दा बढी दलित समुदाय रहेका कारण उनीहरूलाई जग्गाको व्यवस्थापनको लागि नगरले पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले निर्वाचनको समयमा भूमिहीन दलित समुदाय राजनीतिक दलको तारो बन्ने गरेको दुखेसो पोख्नुभयो  । भोट नदिए उठीबास गर्ने राजनीतिक दलको धम्कीका कारण त्रासमा बाँच्नुपर्ने स्थिति हुने गरेको उहाँको भनाई रहेको छ ।