नेपाल मास्क अभियान अन्तर्गत बैतडीमा मास्क वितरण

नेपाल मास्क अभियान अन्तर्गत बैतडीमा मास्क वितरण

बैतडी । नेपाल मास्क अभियान अन्तर्गत बैतडीमा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले मास्क वितरण गरिरहेका छन् । अभियान अन्तर्गतको शुक्रवार अन्तिम दिन जिल्लाका सबै जसो ठाउँमा मास्क वितरण गरिएको हो । 

जिल्ला सदरमुकाममा स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल रेडक्रस सोसाइटी लगायतका सरकारी तथा गैरसरकारी निकायहरूले बजार प्लेकार्ड सहित मास्क वितरण गरेका छन् । बिना मास्क घर बाहिर ननिस्किन सुझाव दिँदै नागरिकलाई मास्क वितरण गरिएको सामाजिक विकास कार्यालय बैतडीका अभियन्ता जयराज अवस्थीले बताउनुभयो । 

महामारी रोकथाम र नियन्त्रणमा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता भन्ने मूल नारा सहित नेपाल मास्क अभियान अन्तर्गत जिल्लाको गोठलापानी, पाटन, सतबाँझ लगायतका क्षेत्रमा सर्वसाधारणलाई सम्झाई बुझाई मास्क वितरण गरिएको छ । 

कोरोना भाइरसको जोखिम कायमै रहेकाले त्यसबाट बच्न र बचाउनका लागि नेपाल मास्क अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । 

जिल्लाभरिका प्रहरी युनिटबाट नेपाल मास्क अभियान अन्तर्गत प्रहरीले मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताउनुभयो । यस्तै सबै स्थानीय तहका स्वास्थ्य शाखा, सबै स्वास्थ्य चौकी र स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका संघसंस्थाहरुले मास्क वितरण गरिरहेका छन्