प्रचण्डको प्रतिवेदन : ‘अरु कम्युनिष्टसँग एकता गर्दै चुनावमा पहिलो दल’

प्रचण्डको प्रतिवेदन : ‘अरु कम्युनिष्टसँग एकता गर्दै चुनावमा पहिलो दल’

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक अहिले बसिरहेको छ । काठमाण्डौको एक पार्टी प्यालेसमा बसिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्नुभएको राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

प्रचण्डको प्रतिवेदनमा अब टोलटोलमा माओवादी केन्द्रका कमिटी बनाएर पार्टीलाई फेरि नागरिककै घरदैलोमा पुर्याउने र आउँदो चुनावमा सबैभन्दा बलियो शक्ति बन्ने दाबी छ ।

यस्तै प्रस्तावमा सत्तारुढ गठबन्धनलाई कम्तिमा आउने तीनवटै तहका चुनावसम्म कायम राख्ने प्रस्ताव पनि गरिएको छ । अहिलेको गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायित्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम राख्ने नीति रहने प्रस्तावमा उल्लेख छ ।

एमालेसँगको एकता र गठबन्धन उपयुक्त भए पनि अध्यक्ष केपी ओलीको अहंकार र दम्भका कारण नेकपा विघटन भएको भन्दै अध्यक्ष प्रचण्डले ओलीबाहेकका कम्युनिस्टहरुको एकीकरण गर्ने समेत उल्लेख गर्नुभएको छ । 

अहिलेको संविधानमा आफ्नो पार्टीले भनेको जस्तै नभए पनि आधारभूत र मूल रुपमा आफ्नो पार्टीको स्वामित्व रहेको भन्दै प्रतिवेदनमा संविधानलाई कार्यान्वयन गर्दै समाजवाद तर्फको कदम रहने उल्लेख छ ।  अहिलेको सरकारका प्राथामिकता कोरोना नियन्त्रण, अर्थतन्त्रको पुनरुत्थान, नागरिकको जीवनस्तर सुधार र सुशासन स्थापना भएकोले गठबन्धन सरकारको लक्ष्य पूरा गर्न पार्टी प्रतिबद्ध भएर लाग्ने भनिएको छ ।

प्रतिवेदनमा एमसीसी र भारतसँगको सीमा बिबाद रहेको कालापानी, लिपुलेक, लिम्पियाधुराको समस्या पार्टीको घोषित नीति अनुसार कुटनीतिक संवादका माध्यमबाट हल गरिने उल्लेख छ । माओवादी केन्द्रीय कमिटी बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावका साथै विधान मस्यौदामाथि छलफल गर्न केन्द्रीय सदस्यहरूलाई आठ समूहमा बाँडिएको छ ।

समूहलाई प्रस्तावमाथि छलफल गर्न भोलि बिहान ११ बजेसम्मको समय दिइएको छ । माओवादीको केन्द्रीय कमिटी बैठकले सांगठनिक एजेण्डा तय गर्ने, नेताहरूको प्रदेश र विभिन्न विभागहरूमा कार्य विभाजनको निर्णय गर्नेछ ।