नेपाललाई निर्यातमुखी अर्थतन्त्र अपरिहार्य भइसक्यो : अर्थमन्त्री शर्मा

नेपाललाई निर्यातमुखी अर्थतन्त्र अपरिहार्य भइसक्यो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन वृद्धि गर्न निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ ।  नेपाल उद्योग वाणिज्य संघ काठमाण्डाैको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अब निर्यातमुखी अर्थतन्त्र अपरिहार्य रहेको भन्दै यसमा निजी क्षेत्रको सहयोगको खाँचो रहेको बताउनुभयो ।

उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि सामान्य प्रयत्नले नपुग्ने भन्दै मन्त्री शर्माले गुणात्मक प्रयत्न जरुरी रहेको बताउनुभयो । देशलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नको लागि निजी क्षेत्रले के कस्तो नीतिगत सुधार चाहन्छ त्यसको लागि सरकार तयार रहेको मन्त्री शर्माको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले सार्वजनिक गरेको मौद्रिक नीतिले कोराेना पछिको पुनराेत्थान तथा साना एवं मझौला उद्यमको विस्तारमा विशेष ध्यान दिएको भन्दै धन्यवाद दिनुभयो ।

उद्योग वाणिज्य महासंघले १० वर्षमा एक खर्ब ५० अर्ब अमेरिकी डलर बराबरको पुँजी निर्माण हुने अपेक्षाका साथ ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०' भिजन पेपर तयार पारेको जानकारी दिँदै अध्यक्ष गोल्छाले यसबाट थप २२ लाख जनालाई औपचारिक रुपमा रोजगारी दिने योजना रहेको बताउनुभयो ।