चालु आर्थिक बर्षमा गत आर्थिक वर्षको तुलनामा झण्डै ३२ अर्ब बढी राजस्व संकलन

चालु आर्थिक बर्षमा गत आर्थिक वर्षको तुलनामा झण्डै ३२ अर्ब बढी राजस्व संकलन

चालू आर्थिक वर्ष २०७८-७९ मा गत आर्थिक वर्षको तुलनामा झण्डै ३२ अर्ब बढी राजस्व संकलन भएको छ । चालू वर्षको पहिलो २९ दिनमा सरकारले लक्ष्यको ७.५९ प्रतिशत अर्थात् झण्डै ८७ अर्ब ३६ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको हो ।
गत वर्ष सोही अवधिमा सरकारले जम्मा ५५ अर्ब ४५ करोड अर्थात् लक्ष्यको ५.४८ प्रतिशत राजस्व संकलन गरेको थियो । चालू वर्षमा संकलन भएको राजस्वमा गैरकर राजस्वको संख्या ह्वात्तै बढेको देखिएको छ । कोरोना प्रभावले अघिल्लो वर्ष निकै कम गैरकर उठेको बताइए पनि चालू वर्षको पहिलो २९ दिनमा झण्डै लक्ष्यको १४.९१ प्रतिशत अर्थात् १६ अर्ब ९१ करोड रुपैयाँ संकलन भएको छ । त्यस्तै ७० अर्ब ४५ करोडको हाराहारीमा कर राजस्व संकलन भएको छ ।
आर्थिक गतिविधिहरू बढेकाले राजस्व संकलनमा वृद्धि भएको पूर्व राजस्वसचिव रामशरण पुडाशैनी बताउँछन् । “राजस्व संकलन कि त उपभोगबाट हुन्छ, कि त आयबाट हुन्छ,” उनी भन्छन्, “आर्थिक गतिविधिहरू सहज रूपमा अगाडि बढ्यो भने आय बढ्छ, आय बढेपछि उपभोग पनि बढ्छ ।”
अर्थतन्त्र सामान्य अवस्थामा फर्किन थाल्दा आर्थिक गतिविधि बढ्न गई आयातमा वृद्धि हुँदा राजस्व संकलनमा पनि प्रभाव पारेको उनी बताउँछन् । त्यस्तै चालू आवमा ‘एक्साइज’ दरहरू बढेका कारण पनि राजस्व धेरै उठेको उनको तर्क छ ।
त्यस्तै खर्चतर्फ हेर्ने हो भने एक महिना बित्नै लाग्दासमेत लक्ष्यको आधा प्रतिशत पनि हुन सकेको छैन । सरकारले २९ दिनको अवधिमा लक्ष्यको ०.४८ प्रतिशत अर्थात् सात अर्ब ९० करोडमात्र खर्च गर्न सकेको छ । त्यसमा पनि पुँजीगत खर्चको अवस्था निकै निराशाजनक देखिएको छ । २९ दिनमा ८७ करोड रुपैयाँ मात्र खर्च भएको छ । त्यस्तै चालूतर्फ सात अर्ब तीन करोड रुपैयाँ खर्च भएको छ ।