काबुल बाहेकका सबै प्रमुख शहर तालिबानको नियन्त्रणमा

काबुल बाहेकका सबै प्रमुख शहर तालिबानको नियन्त्रणमा

तालिबान बिद्रोही नजिक आइरहँदा अफगानिस्तानको राजधानी काबुलमा तनाब बढिरहेको छ । बिद्रोही संगठनले आइतबार बिहानै जलालाबाद शहर नियन्त्रणमा लिएपछि अब सरकारको नियन्त्रणमा एक मात्र प्रमुख शहर काबुल बाँकी रहेको छ ।

शनिबार तालिबानले सरकारको नेतृत्वमा रहेको उत्तरी शहर मजार ए शरिफ आफ्नो कब्जामा लिएको थियो । सरकारी सैन्य एवम् सुरक्षा संयन्त्र असफल हुँदा राष्ट्रपति असरफ घानीमाथि राजिनामा दिने दबाब बढेको छ । राष्ट्रपति घानीले अब भने तालिबान बिरुद्ध अन्तिमसम्म लड्ने वा आत्मसमपर्ण गर्ने दुई वटा बिकल्प मात्रै बाँकी छ ।

यसैबीच, अमेरिकाले आफ्ना नागरिक खाली गर्न पाँच हजार अमेरिकी सेना परिचालन गर्न लागेको जनाएको छ । राष्ट्रपति जोइ बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयको बचाउ गर्दै कुनै देशको गृहयुद्धमा अनिश्चितकालसम्म अमेरिकी उपस्थितिको स्पष्ट कारण नदेखिएको प्रतिक्रिया दिनुभएको छ ।

आइतबार बिहान आएको खबर बमोजिम तालिबानले जलालाबाद शहर आफ्नो नियन्त्रणमा लिन शक्ति खर्च गर्न नपरेको बताइएको छ । एक जना सरकारी अधिकारीले रोयटर्ससँगको कुराकानीमा गर्भनरले तालिबान समक्ष आत्मसमपर्ण गरेपछि कुनै भिडन्त नभएको बताएका छन् ।

नागरिकको जीवन रक्षा गर्ने एक मात्र उपाय आत्मसमपर्ण रहेकोले गर्भनरले उक्त विकल्प रोजेको बताइएको छ । जलालाबाद नियन्त्रणमा आउनुको अर्थ तालिबानले अफगानिस्तानलाई पाकिस्तानसँग जोड्ने बाटो सुरक्षित गरेको हो ।