बझाङको तलकोट गाउँपालिकाका ७ हजार भन्दा बढी जनसंख्या खानेपानीको पहुँचमा

बझाङको तलकोट गाउँपालिकाका ७ हजार भन्दा बढी जनसंख्या खानेपानीको पहुँचमा

बझाङ । बझाङको तलकोट गाउँपालिका–२ रुपातोला घर भएका धन्जय जोशी उमेरले ४२ बर्ष पुगे । केही बर्ष अघि लडेर घाइते भएका उहाँ अहिले सम्म राम्रो सँग हिँडडुल गर्न सक्नुहुन्न । लौरोको सहाराले चर्पी, धारा र भित्र बाहिर गर्छन् ।

तलकोट गाउँपालिका र ग्रामीण जलश्रोत परियोजना अन्तर्गत एक घर एक धारा निर्माण पछि अहिले आफूलाई धेरै सजिलो भएको जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अपाङ्गता भएकाले टाढा जान सकिँदैनथ्यो । घरको आँगनमै धारा बने पछि हात मुख धुन नुहाउन सजिलो भएको छ । घरमा धारा नहुँदा समस्या भएको थियो ।’

त्यस्तै तलकोट गाउँपालिका–१ सुनिकोट घर भएकी ६० बर्षीया केशमती ऐडीले पनि टाढा नाउला पानी बोकेर खाएको सम्झँदै भन्नुभयो, अहिले घरमा धारा बने पछि जति खेर पनि पानी भरेर ल्याउन सजिलो भएको छ ।’ गाई बस्तुहरूलाई खुवाउन, चर्पी सफा गर्न र  बालबच्चा लगायत मलाई पनि सरसफाइ गर्न सहज भएको र टाढाबाट पानी बोकेर ल्याउनु पर्ने  दुख हटेको बताउनुभयो । 

तलकोट गाउँपालिकाको आर्थिक बर्ष ०७४/०७५ देखी तलकोटको वडिगाउँ, धामीगाउँ लगायतका ठाउँबाट सुरु गरिएको खाने पानी योजना निर्माण पछिल्लो समयमा तलकोट गाउँपालिका–१ को तेलेकाँडा बहुउपयोगि खानेपानी योजना समेत निर्माण भएको र तलकोट गाउँपालिकामा मात्रै हाल सम्म १ हजार ६२ घरधुरीमा धारा बनेको र जसबाट ७ हजार ३ सय ९५ जनसङ्ख्या खानेपानीको पहुँच सँग जोडिएको जलश्रोत इन्जिनियर लोकेन्द्र ओलीले बताउनुभयो ।

जसमा २ करोड १८ लाख तलकोट गाउँपालिकाले २ करोड ६१ लाख, उपभोक्ताहरूको जन श्रमदान र ५ करोड ३१ लाख नेपाल सरकार, फिल्याण्ड सरकार र युरोपियन युनियनको सहयोगमा धारा निर्माण गरिएको छ ।

‘धारा निर्माण मात्र नभई गाउँपालिकासँग साझेदारीका रुपमा सिँचाई पोखरी, जीविकोपार्जन, जलवायु परिवर्तन, महिनावारी पूर्ण सरसफाइ लगायतका क्षेत्रमा समेत ग्रामीण जलश्रोत परियोजनाले काम गर्दै आएको बताउनुभयो ’

घर–घरमा धारा बनेपछि पानी पिउनलाई मात्र नभई खेर गएको पानीलाई उपयोग गरी आयआर्जनमा जोड दिनुका साथै सुनिकोट सदरमुकाम चैनपुर नजिक भएकाले तरकारी पकेट क्षेत्र बनाउनु पर्ने र ग्रामीण जलश्रोत परियोजनाले गरेका कामहरू समुदायमा प्रभावकारी बहु उपयोगी भएको जिल्ला समन्वय समिति प्रमुख खडक बहादुर खड्काले बताउनुभयो । 

२०७४ सालमा स्थानीय चुनाव भई आफू गाउँपालिका अध्यक्ष भए पछि स्थानीय सरकारसँग साझेदारी गरी काम गर्नुपर्छ भन्दै तलकोट गाउँपालिकामा खानेपानी निर्माणका काम देखी अन्य क्रियाकलापहरू गर्दै आएको र योजनाहरूलाई दिगो बनाउनका तथा धेरै बर्ष सम्म बचाइ राख्न गाउँपालिका मात्रै नभएर व्यक्ति परिवार समुदायको सबै भन्दा बढी भूमिका हुने भएकाले धारा निर्माण भएका घरधुरीले मासिक मर्मत कोषको व्यवस्थामा ध्यान दिनुपर्ने तलकोट गाउँपालिका अध्यक्ष लाल बहादुर विष्टले बताउनुभयो ।