अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारकाे आग्रह

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारकाे आग्रह

सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज आइतवार विज्ञप्ति निकालेर अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गर्दै विवरण सङ्कलनका लागि अनलाइन रजिस्ट्रेशन सुरु गरेको जानकारी दिएको छ । 

अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरूको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइट nepal consular.gov.np मा आफ्नो नामसहितको विवरण भर्न सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विज्ञप्तिमा अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित ठाउँमा राख्न तथा नेपाल पठाउन अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र सङ्घको कार्यालयलाई औपचारिक पत्राचार गरेको पनि जनाएको छ । 

यसैबीच सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गर्न संयोजन गर्नका लागि एक समिति निर्माण गरेको छ । सरकारले द्वन्द्वग्रस्त देश अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा एक समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरत राज पौड्यालले जानकारी दिनुभयो । 

समितिको बैठकमा मन्त्रालयका सचिव पाैड्यालले अफगानिस्तानमा औपचारिक क्षेत्रमा झन्डै एक हजार पाँच सय नेपाली रहेको बताउनुभयो ।