कोभीड: के खोप लगाएका मानिसमा कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन्छ?, के मास्क नलगाउँदा पनि हुन्छ?

धनगढी खबर    

कोभीड: के खोप लगाएका मानिसमा कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन्छ?, के मास्क नलगाउँदा पनि हुन्छ?
फाइल तस्विर

नेपालमा विगत केही सातायता कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुने दर २० देखि २५ प्रतिशतको बीचमा रहँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

कोभिड महामारीको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने प्रक्षेपणबीच सङ्क्रमण दर अझै घट्न नसक्नु चिन्ताको विषय भएको स्वास्थ्यविद्‌हरू बताउँछन्।

प्रतिबन्धात्मक कदमहरू खुकुलो पारिएसँगै कडाइका साथ जनस्वास्थ्यका मापदण्डको पालना गर्न तथा गराउन नसक्नु अर्को चिन्ताको विषय भएको उनीहरू औँल्याउँछन्।

जनस्वास्थ्यसम्बन्धी नियमको पालनासँगै खोप अभियानलाई थप तीव्र बनाउनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. वासुदेव पाण्डे सुझाउँछन्।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दैनिक एक लाख ५० हजारदेखि दुई लाख व्यक्तिलाई कोभिड खोप लगाउने सरकारी लक्ष्य रहेको बिहीवार संसद्‌लाई बताएका थिए।

आइतवार अपराह्ण प्रकाशित विवरणअनुसार नेपालमा पूर्ण मात्रामा खोप लगाउने मानिसको सङ्ख्या ३३ लाख ६४ हजार नाघेको छ।

अक्सफर्ड-आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र अमेरिकी जोनसन एन्ड जोनसनको खोप नेपाल आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

दुइटा मास्क लगाउनु ठिक कि बेठिक?

के खोप लगाउँदैमा सङ्क्रमण हुँदैन?

पूर्ण मात्रामा कोभिड खोप लगाइसकेपछि सङ्क्रमण नै हुँदैन भन्ने बुझाइ गलत भएको जनस्वास्थ्यविद्‌ तथा सङ्क्रामक रोग विशेषज्ञहरू बताउँछन्।

सङ्क्रमण र मृत्युदर घटाउने विषय कुन खोप लगाइयो भन्ने कुरामा पनि फरक पर्ने सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी बताउँछन्।

“नेपालमा प्रयोग भइरहेको अक्सफर्ड-आस्ट्राजेनेका खोपले डेल्टा भेरिअन्टको हकमा पनि सिकिस्त हुने, आईसीयूमा भर्ना हुने दर ९० प्रतिशतको हाराहारीमा घटाएको र मृत्यु हुने दर झन्डै ९५ प्रतिशतले घटाएका तथ्याङ्क छन्।”

युरोपेली देशहरूमा पनि त्यो खोपको प्रयोग भएकोले तथ्याङ्कहरू पाउन सहज भएको उनको ठम्याइ छ।

डेल्टा भेरिअन्टको हकमा भेरो सेलको प्रभावकारितासम्बन्धी तथ्याङ्क उपलब्ध नभए पनि अल्फा भेरिअन्टको हकमा उनी भन्छन्, “त्यसले पनि लक्षणसहितको सामान्य सङ्क्रमण दर ५० प्रतिशतले घटाएको तथ्याङ्क छ।”

डा. सुवेदीका अनुसार खोप लगाएका मानिसमा पनि सामान्य लक्षणसहितको सङ्क्रमण हुने सम्भावना रहन्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वर्तमान निर्देशक तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल पनि खोप लगाएका मानिसहरू समेत सङ्क्रमित भइरहेको बताउँछन्।

“फरक के हो भने खोप नलगाएका मानिसको तुलनामा लगाएका मानिसमा एन्टिबडी अर्थात्‌ रोगप्रतिरोधी क्षमताको विकास भइसकेको हुनाले उनीहरू सङ्क्रमित भए पनि जटिलता देखिने सम्भावना कम रहन्छ।”

“हामीले लगाउने गरेका कुनै पनि खोप शतप्रतिशत प्रभावकारी छैनन्। त्यसैले खोप लगाउँदैमा छुट हुँदैन 

खोप लगाएका व्यक्तिले भाइरस सार्न सक्दैनन्?

खोप लगाएका व्यक्तिले कोरोनाभाइरस सार्न सक्छन्।

विज्ञहरूका अनुसार खोप लगाइसक्दा समेत सङ्क्रमित हुने सम्भावना रहेकोले त्यस्ता व्यक्तिले अरूलाई सङ्क्रमण सार्ने सम्भावना पनि रहन्छ।

“यससम्बन्धी अहिले तथ्याङ्क त छैन। तर खोप नगाएका व्यक्तिको तुलनामा अरूलाई सार्ने सम्भावना कम रहन्छ,” सुवेदीले भने।

के कोभिड खोप लगाउने महिलामा बाँझोपन हुन्छ?

खोप लगाएपछि मास्क नलगाउँदा हुन्छ?

विगतमा संयुक्त राज्य अमेरिकामा पूर्ण खोप लगाइसकेका व्यक्तिले केही अवस्थामा मास्क नलगाउँदा पनि हुन्छ भन्ने सुझाव दिइएको थियो।

“तर पछि निकै सङ्क्रामक डेल्टा भेरिअन्ट त्यहाँ पनि फैलिन थालेपछि पूर्ण खोप लगाएका व्यक्तिहरूले पनि खासगरी इन्डोरमा (भित्र बस्दा) मास्क लगाउनुपर्छ भनेर भनियो। त्योसँगै हामीकहाँ त प्रदूषणलाई पनि हेर्दा मास्क लगाउन छोड्नु भएन,” सुवेदीले सुझाए।

“अर्को कुरा खोप लगाएका मानिसहरूले पनि सङ्क्रमण सार्ने सम्भावना भएकोले जनस्वास्थ्यको दृष्टिकोणले समेत मास्क लगाउनुपर्ने हुन्छ।”

डा. पौडेलका अनुसार खोप लगाएका मानिसमा समान तहमा रोगप्रतिरोधी क्षमताको विकास नहुन सक्छ।

“कुन व्यक्तिमा कति प्रभावकारी रूपमा खोपले काम गरेको हुन्छ भन्ने कुरा अनुहार हेरेर थाहा हुँदैन। त्यसैले खोप लगाएका मानिसबीच पनि मास्क लगाउनु नै सबैभन्दा उपयुक्त हुन्छ।”

खोप लगाएको वा नलगाएको भए पनि मास्क लगाउने लगायत जनस्वास्थ्यका मापदण्ड सङ्क्रमणबाट जोगिने अस्त्र भएको कुरा बिर्सिन नहुने उनको सुझाव छ।

 



सोमबार ३२, साउन २०७८ ०८:०९ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस