चौरपाटीमा ४१० नयाँ रिचार्ज पोखरी निर्माण, जनसमुदायलाई गाउँपालिकाले दियो धन्यवाद !

चौरपाटीमा ४१० नयाँ रिचार्ज पोखरी निर्माण, जनसमुदायलाई गाउँपालिकाले दियो धन्यवाद !

धनगढी । अछामको चौरपाटी गाउँपालिकाले थप चार सय १० रिचार्ज पोखरी निमार्ण गरेको छ । गाउँपालिकाले यही साउन २९ गते ३६४ दिन आफ्नो कामको लागि उठौं, एक दिन वातावरण संरक्षणका लागि जुटौं भन्ने नाराका रिचार्ज पोखरी निमार्ण अभियान सञ्चालन गरेको थियो ।

सोही अभियान अन्र्तगत गाउँपालिकाका सात वटै वडाहरुमा थप ४१० नयाँ रिचार्ज पोखरी निर्माण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाका अनुसार ४१० नयाँ रिचार्ज पोखरी निमार्ण गरिएका छन भने ४८५ वटा पुराना रिचार्ज पोखरीको मर्मत गरिएको गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले जानकारी दिए ।

वातावरण संरक्षणका लागि रिचार्ज पोखरी निर्माण अभियानमा गाउँपालिकामा १ हजार ४६२ महिला र १ हजार २२९ पुरुष गरि २ हजार ६९१ जनाले जनश्रमदान गरेका थिए । बर्षभरी आफ्नो ब्यक्तिगत काम गरे पनि एक दिन वातारण संरक्षणका लागि काम गरे प्राकृतिक सम्पदा जल, जंगल, जमिन, जंगली जनावर वस्तुभाउ र चराचुरीको संरक्षण हुने हुदाँ गाउँपालिकाले रिचार्ज पोखरी अभियान सञ्चालनको अध्यक्ष साउँदे बताए ।

रिचार्ज पोखरी निर्माण गरे तत्काल यसको फाईदा नदेखिए पनि विस्तारै केही वर्ष पछि यस्तो प्रभाव देखिने उनको दावी छ । मुख्य गरि पानीको मुहान माथी पोखरी निर्माण गरे खानेपानीको मुहानको संरक्षण हुने, सुख्खा डाडाँमा पोखरी निर्माणले वोटविरुवा हरियाली हुने, जंगली जनावरलाई खानेपानीको अभाव नहुने, घर नजिकआईरहेका जंगली जनावर र पशुपंक्षीको आहार जंगलमै भेटिने भएकोले पनि खेतिपातीको संरक्षणमा समेत टेवा पुग्ने अध्यक्ष साउदको भनाईं छ ।

चौरपाटी गाउँपालिकाले तीन बर्ष अघि देखि सुरुवात गरेको अभियानले साना ठुला रिचार्ज पोखरी गरी सात वटै वडामा ७ हजार ५० बढी रिजार्ज पोखरी निर्माण गरेको थियो । रिचार्ज पोखरी निर्माण अभियानमा सहयोग गर्ने सम्पूर्ण जनसमुदायलाई गाउँपालिकाले धन्यवाद समेत ज्ञापन गरेको छ ।