बेलायती सेनामा गोर्खा सैनिकको नयाँ भर्ना

बेलायती सेनामा गोर्खा सैनिकको  नयाँ भर्ना

बेलायत सरकारले गोर्खा सैनिकको नयाँ भर्ती प्रक्रिया अगाडि बढाएको छ । सैनिक मुख्यालयले ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिस ‘इन्टेक–२०२२’ मा गरी ८ हजार नेपाली युवालाई क्षेत्रीय छनोटका लागि बोलाएको छ ।

क्षेत्रीय छनोटमा ७४ जिल्लाका युवा सहभागी छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाबाट भर्ती नलिने बेलायतको नीति रहेकाले प्रतिस्पर्धी नदेखिएका हुन् । ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइट आर्मी डट एमओडी डट यूकेमार्फत जानकारी दिँदै अगस्ट २९ (भदौ १३ गते) बाट क्षेत्रीय छनोटका निम्ति पोखरा बोलाएको हो ।

 

कोरोना महामारीले छनोटमा समस्या देखिएपछि यो पटक १९ देखि २१ वर्षकालाई मात्र अनलाइनबाट फाराम भराएको थियो । कोभिड–१९ महामारीका कारण गत वर्षदेखि क्षेत्रीय र अन्तिम दुवै छनोट पोखरामा हुने गरेको छ । मुख्यालयले भर्ती हुन चाहने प्रतिस्पर्धी युवाको चाप बढे पनि ब्रिटिस गोर्खाको कोटा भने घटाएको छ । गत वर्ष ब्रिटिस सेनाका लागि ३ सय ४० र सिंगापुर पुलिसका लागि १ सय ३४ छानिएका थिए । यसपटक क्षेत्रीय छनोटमा ब्रिटिसतर्फ ५ हजार ७ सय ८७ जना र सिंगापुरतर्फ २ हजार ४ सय १९ जनाको नामावली प्रकाशित गरेको छ । ‘ब्रिटिस सेना र सिंगापुर पुलिसको गोर्खा भर्ती हाम्रो छनोट प्रक्रिया सधैं नि:शुल्क, निष्पक्ष र पारदर्शी छ,’ बेलायती सेनाको मुख्यालयको वेबसाइटमा भनिएको छ, ‘यो वर्ष हामीले उत्कृष्ट २ सय ३० जना जवानहरू ब्रिगेड अफ गोर्खाजमा अनि उत्कृष्ट १ सय ४० जना जवानहरू गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिसको लागि छनोट गरिनेछ ।’

यसअघि कागजपत्र, अनुशासन, मेडिकललगायत कारणबाट भर्ती प्रक्रियाबाट बाहिरिएकाले पुन: आवेदन दिन नपाउने नियम लागू छ । गोर्खा सैनिकतर्फ भदौ १३ देखि असोज २४ गतेभित्र हुने क्षेत्रीय छनोटमा शैक्षिक जाँच, अंग्रेजी भाषा, शारीरिक तथा स्वास्थ्य परीक्षण र अन्तर्वार्ताको चरण पूरा गर्नुपर्नेछ । त्यसैगरी सिंगापुर प्रहरीका निम्ति नोभेम्बर १३ (कात्तिक २७) देखि मंसिर १३ गतेभित्र क्षेत्रीय छनोट पूरा हुने जनाइएको छ ।

ब्रिटिस गोर्खा सैनिकको इतिहास सन् १८१५ देखि सन् २०२१ सम्म आइपुग्दा २ सय ६ वर्ष पुगेको छ । ब्रिटिस गोर्खा सैनिकले विश्व युद्धमा बहादुरी प्रदर्शन गरेबापत १३ हजारले सर्वोच्च पदक भिक्टोरिया क्रस प्राप्त गरेका छन् ।