काबुलबाट उद्धार गरिएका १ सय २७ जना नेपाली काठमाण्डौ आइपुगे

काबुलबाट उद्धार गरिएका १ सय २७ जना नेपाली काठमाण्डौ आइपुगे

अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी चार्टर्ड बिहानमा उनीहरू बिहान सवा १० बजे त्रिभुवन विमानस्थलमा आइपुगेका विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३ सय ८५ मध्ये १ सय २७ जना अघि बिहान आइपुगेका हुन् । उनीहरूलाई कुवेतको जजिरा विमानस्थलबाट नेपाल ल्याइएको हो । उद्धार गरिएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ ।

विमानस्थल कार्यालयले १ सय २७ जना आइपुगेको बताए पनि परराष्ट्र मन्त्रालयले १ सय १८ जना आइपुगेको पुष्टि गरेको छ । उद्धार गरिएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ । स्वदेश ल्याइएकाहरुलाई प्रक्रिया पुर्याएर घर पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपाल ल्याइएकाहरुको स्वास्थ्य जाँच गरेर सङ्क्रमण भएमा उपचार पछि घर पठाइने र सङ्क्रमण नभए सिधै घर पठाइने छ । अफगानिस्तानमा अझ धेरै नेपालीहरु उद्धारको पर्खाइमा छन्। विदेशी नियोगहरुमा कार्यरत नेपालीलाई सम्बन्धित देशले उद्धार गरेर सुरक्षित ठाउँमा राखेको जनाएका छन् भने नेपालले पनि सम्पर्कमा आउन आग्रह गरिरहेको छ ।

अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले आफ्नो विवरण टिपाइसकेका छन् । कन्सुलर सेवा विभागको वेबसाइट, मोबाइल नम्बर तथा भाइबर, ह्वाट्सएपमार्फत विवरण टिपाउन सकिन्छ ।