खाली कार्ड सकियो, लाइसेन्स छपाइ बन्द

खाली कार्ड सकियो, लाइसेन्स छपाइ बन्द

यातायात व्यवस्था विभागले लाइसेन्स छपाइको काम बन्द गरेको छ। खालि कार्ड सकिएपछि लाइसेन्स छपाइ बन्द गर्नुपरेको विभागले जनाएको छ।

खाली कार्ड अभाव भएपछि विभागले गतवर्ष फागुनदेखि नै नियमित लाइसेन्स छपाइको काम गर्न सकेको छैन। हाल विभागसँग २० हजारजति मात्रै खाली कार्ड बाँकी छन्।

गत वर्ष बन्दाबन्दीकै बीचमा विभागले कार्ड छपाइ गरेर डेढ वर्षदेखि रोकिएका कार्ड बाँडेको थियो। तर, यस वर्ष भने निषेधाज्ञाको समयमा कामको अन्य चाप नहुँदा पनि कार्ड छपाइको काम गर्न नसकिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए।

गएको फागुन यता विभागले विदेश जान लागेका सेवाग्राही, कर्मचारी, मिशनमा जान लागेका आर्मी, प्रहरी लगायत अत्यावश्यक परेका व्यक्तिलाई मात्र लाइसेन्स प्रदान गरेको छ।

२०२१ जनवरीदेखि हालसम्म विभागले ६ लाख कार्ड छाप्न बाँकी छ। विभागले गतवर्षको बन्दाबन्दीमा १० लाख कार्ड छापेर यातायात कार्यालयमा पठाएको थियो। 

विभागले गएको फागुनमा फ्रेन्च कम्पनी सिल्पसँग १४ लाख नयाँ कार्डका लागि सम्झौता गरेको थियो। यो कार्ड आउने प्रक्रिया अघि बढिसकेको घिमिरेले बताए।