डोटीमा बरामद एक किलो सुन र पैसा मुम्बई पठाइयो

डोटीमा बरामद एक किलो सुन र पैसा मुम्बई पठाइयो

डोटी । नेपाल प्रहरीले डोटीमा बरामद भएको सुन र नगद रकम कानूनीरुपमा सबै प्रक्रिया पुर्‍याएर भारतीय प्रहरीमा बुझाएको स्पष्ट पारेको छ।

भारतमा चोरी गरी ल्याइएको एक किलोभन्दा बढी सुन र १० लाख नगद रकम डोटी प्रहरीले बरामद गरेको घटनाका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले मंगलबार एक विज्ञप्तिमार्फत विधि र प्रक्रिया अबलम्वन गरी भारतमा बुझाइएको जनाएको छ।

“उक्त बरामद सुन र नगद डोटी प्रहरीले प्रहरी प्रधान कार्यालय र भारतीय दूतावासका प्रतिनिधिको समन्वय र रोहवरमा कूटनीतिक कार्यविधि र प्रक्रिया पूरा गरी इन्टरपोल शाखामार्फत पीडितको अक्तियारनामा लिई कानूनबमोजिम आवश्यक कारबाहीका लागि दिल्लीको नेशनल सेन्ट्रल ब्यूरोका अधिकारिक प्रतिनिधिलाई जिम्मा लगाएको ब्यहोरा जानकारी गराइन्छ”, प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।