प्रतिगमन तत्काललाई परास्त भयो तर लामो लडाइँ बाँकी नै छ : प्रचण्ड

प्रतिगमन तत्काललाई परास्त भयो तर लामो लडाइँ बाँकी नै छ :  प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनकारी प्रवृत्ति तत्काल परास्त भए शहीदको सपनामा साकार पार्न लामो लडाइँ लड्न बाँकी रहेको बताएका छन् ।

शहीद रामबृक्ष यादवको २७औँ स्मृति दिवसका अवसरमा बुधबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा दाहालले कम्युनिस्ट आन्दोलनभित्र देखा परेको तानाशाही, निरंकुश, व्यक्तिवादी र आत्मसर्पणवादी प्रवृति परास्त भए पनि यो विजय नै अन्तिम नभएको बताए ।

‘कम्युनिष्टमा देखा परेको व्यक्तिवादी प्रवृतिलाई रोक्न हामी आफैँ पनि सच्चिएर दृढताका साथ लड्यौँ, जित्यौँ पनि । तर यो नै अन्तिम विजयी हैन, हामीले शहीदका सपना साकार पार्न अझै लामो लडाइँ लड्न बाँकी नै छ, अब त्यसका लागि तयारी होऔँ, दाहालले भने ।

समाजवादको बाटोमा अघि बढ्न पनि अब लामो लडाइँ जरूरी भएको उनले बताए । अध्यक्ष दाहालले शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि माओवादीको क्रान्तिकारी चरित्र र संस्कार पनि उल्टो बनेको स्वीकार गरे ।

‘शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि हामी आफ्नै क्रान्तिकारी चरित्र र संस्कारको (त्याग, तपस्या र बलिदान गर्ने ) भावना त्यस्तो छैन । बरु उल्टो छ,’ उनले भने ।