साफ च्याम्पियनशिपमा नेपालले पहिलाे खेल आयाेजक माल्दिभ्ससँग खेल्ने

साफ च्याम्पियनशिपमा नेपालले पहिलाे खेल आयाेजक माल्दिभ्ससँग खेल्ने

पाँच देशको सहभागिता निश्चित भएको १३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै सुरुवात गर्ने भएको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले आज १३ औँ संस्करणमा पाँच देशलाई सहभागी बनाइ सार्वजनिक गरेको तालिकामा नेपालले पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स पाएको हो । वर्ष दिनपछि धकेलिएको १३ औँ संस्करणमा आयोजक माल्दिभ्स, भारत, नेपाल, बङ्गलादेश र श्रीलङ्काको सहभागिता रहने निश्चित भएको हो ।

यस संस्करणमा भुटान र पाकिस्तानको सहभागिता नहुने निश्चित भएको छ । यसअघि भुटानले सहभागिता जनाउन सक्ने सङ्केत दिएको थियो तर अन्तिम समयमा सहभागिता कोरोनाका कारण नजनाउने भएपछि भुटानसँगै फिफबाट निलम्बनमा परेको पाकिस्तान पनि प्रतियोगितबाट बाहिर रहेकाे हाे । 

पाँच राष्ट्र सहभागिता रहने प्रतियोगिता असोज १५ देखि २७ गतेसम्म आयोजना हुँदैछ । आज सार्वजनिक भएकाे तालिकाअनुसार नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ गते मालेमा रहेकाे राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । यस्तै नेपालले दोस्रो खेल श्रीलङ्कासँग असोज १७ गते, तेस्रो खेलमा भारतसँग असोज २२ र लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग असोज २५ गते खेल्ने तालिका रहेको छ ।

प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि असोज २७ गते प्रतिस्पर्धा गर्नेछन् । साफ च्याम्पियनशिपका लागि नेपालले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीकाे प्रशिक्षणमा पोखरा रङ्गशालामा तयारीलाई तीव्रता दिइरहेको छ । प्रतियोगिताका लागि मुख्य प्रशिक्षक अलमुताइरीले पोखराको बन्द प्रशिक्षणमा रहेका मध्येबाट १० खेलाडीलाई बाहिर राख्दै २८ खेलाडी छनोट गरेका छन् ।