कञ्चनपुरमा १६ हजारलाई खोप

कञ्चनपुरमा १६ हजारलाई खोप

कञ्चनपुर । कञ्चनपुरमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका दुई तिहाइले मात्रै अस्ट्राजेनेकाको खोप लगाएका छन् । गत फागुनमा पहिलो मात्रा लगाएकाहरूका लागि ५ दिनसम्म सञ्चालन भएको खोप कार्यक्रममा १६ हजारले मात्रै अस्ट्राजेनेकाको खोप लगाएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार फागुन र चैतमा गरी जिल्लामा विभिन्न समूहका २४ हजार बढीलाई कोभिसिल्डको पहिलो डोज दिइएको थियो । दोस्रो मात्राको खोप भने पहिलो दिन ९ हजार बढीले लगाएका थिए भने दोस्रो दिन साढे ५ हजारले अस्ट्राजेनेकाको खोप लगाएका थिए । त्यसपछि भने दैनिक २र३ सयले मात्रै खोप लगाएका छन् ।

कोभिसिल्ड लगाएको कतिपयले भारत र कतिपयले जिल्ला बाहिर गएर लगाएको हुन सक्ने स्वास्थ्य कार्यालयको अनुमान छ । पहिलो मात्रा लगाएका ८ हजार बढी अस्ट्राजेनेकाको खोप लगाउन आएनन् ।

‘अब बाँकी रहेको खोप दोस्रो डोजका लागि राखेर विश्वविद्यालयका परीक्षार्थी, सुरक्षाकर्मीका श्रीमान्, श्रीमती, महाकाली प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीका परिवार र पहिलो मात्रा कोभिसिल्ड लगाएर छुटेकालाई लगाइने छ,’ स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले भने, ‘करिब ५ हजारलाई भदौ ३ र ४ गते खोप दिइनेछ ।’ जसका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल र भृकुटी माविलाई खोप केन्द्र तोकिएको छ ।