नेकपा एमाले विभाजन सँगै सुदूरपश्चिममा गठबन्धन सरकार बन्ने सम्भावना बढ्यो

नेकपा एमाले विभाजन सँगै सुदूरपश्चिममा गठबन्धन सरकार बन्ने सम्भावना बढ्यो

नेकपा एमाले विभाजनसँगै सुदूरपश्चिममा गठबन्धन सरकार बन्ने सम्भावना बढेको छ । केन्द्रमा गठबन्धन सरकार बनेसँगै कांग्रेस पनि प्रदेश सरकारमा सहभागी हुने चर्चा चले पनि अहिलेसम्म सहभागी हुन सकेको छैन ।

सम्भवतः अब बन्ने सरकारमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले(समाजवादी) र जनता समाजवादी(जसपा) सहभागी हुनेछ । अर्थात् अब बन्ने सरकारमा नेकपा एमाले बाहेक सबै दलहरू सहभागी हुनेछन् । जसमा दुई जना सांसदले समेत आफूहरू आधिकारिक जसपामा रहेको स्पष्ट पारिसकेपछि उनीहरू पनि सत्ता साझेदार हुनेछन् । 

सुदूरपश्चिम प्रदेश सभा नेपाली कांग्रेस संसदीय दलका नेता रण बहादुर रावलले सरकार गठनका लागि छलफल भईरहेको बताए । ‘हामी केन्द्रको निर्णयको पर्खाईमा छौ’,रावलले भने,’ सम्भवत: दशै अघि नै प्रदेश सरकारमा नेतृत्व फेरबदल हुनेछ ।’

हाल माओवादी केन्द्रका सांसद त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । सुदूरपश्चिममा नेकपा एमाले विभाजन नभएको अवस्थामा पनि माओवादीका १३, कांग्रेसका १२ र जसपाका २ सांसद समेत गरेर २७ जना सरकार गठनका लागि पर्याप्त थिए । माधव नेतृत्वको नेकपा एमाले समाजवादी समेत यसमा सहभागी भएपछि सरकार गठनका लागि स्पष्ट बहुमत पुग्नेछ ।