अफगानिस्तानको काबुल विमानस्थल र वरिपरि गरी १२ जनाको मृत्यु भएको छ । गत् आइतबारदेखि बुधबारसम्म १२ जना अफगानको ज्यान गएको तालिबानले जनाएको छ ।
तालिबानका एक अधिकारीले मृत्युको कारण खुलाउँदै गोली प्रहार र भगदौडमा किचिएको बताउनुभएको छ । यात्रा गर्ने अधिकार नरहेको र बाहिरिने उपाय नरहेकालाई घर फर्किन जोड दिएको बताउँदै तालिबान अधिकारीले विमानस्थलमा रहेका कसैलाई तालिबानले दुखित बनाउन नचाहेको दाबी गर्नुभयो ।
अफगानिस्तानबाट हजारौं सर्वसाधारण बाहिरिने प्रयास गर्दा विमानस्थलमा भागदौड भएको थियो । अमेरिकी सेनाको नियन्त्रणमा रहेको विमानस्थलबाट बर्हिगमन ब्यवस्थित बनाउन गोलीसमेत चलाइएको थियो । काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । तर चारैतिर तालिबानको उपस्थिति बलियो देखिएको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार सशस्त्र तालिबानले कागजात रहेका सर्वसाधारणलाई समेत विमानस्थल प्रवेशमा रोक लगाएको छ ।