पार्टी एकताको लागि नेतृत्व तहले १० बुँदेको पूर्ण पालना गर्नुपर्छ : मुख्यमन्त्री शाक्य

पार्टी एकताको लागि नेतृत्व तहले १० बुँदेको पूर्ण पालना गर्नुपर्छ : मुख्यमन्त्री शाक्य

नेकपा (एमाले)का उपाध्यक्ष एवं बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी एकताको लागि नेतृत्व तहले १० बुँदेको पूर्णपालना गर्नुपर्ने बताएकी छन् ।

एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शाक्यले आफू सदैव एकताको पक्षमा रहेको स्पष्ट पार्दै नेतृत्व तहले १० बुँदेको पूर्णपालना गर्नुपर्ने बताएकी हुन् ।

शाक्यले केही शक्तिले एमालेलाई कमजोर बनाउन खोजिरहेको आरोप पनि लगाइन् । अहिलेको अवस्थाबाट पार्टीले नोक्सानी व्यहोरेको भन्दै उनले नेतृत्वभित्रको बेमेलको कारण पार्टी एक हुन नसकेको बताइन् ।

आफूभित्र लडेर पार्टीलाई फाइदा नहुने भएकाले सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखिन् । उनले बाग्मती प्रदेशका पार्टी र मुलुकलाई जोगाउन एकताबद्ध भएर अगाडि बढ्ने निर्णय गरिएको जानकारी पनि दिइन् ।

पार्टी जोगाउनको लागि बाग्मती प्रदेशमा डोरमणि पौडेलले गरेको त्याग सम्मानयोग्य रहेको उनको भनाइ छ । कार्यक्रममा मञ्चले बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यलाई सम्मान गरेको थियो ।