कोरोना विरुद्धको खोप : कैलालीका ४६ हजार बढी व्यक्ति दोस्रो डोजको पर्खाइमा

कोरोना विरुद्धको खोप : कैलालीका ४६ हजार बढी व्यक्ति दोस्रो डोजको पर्खाइमा

धनगढी । कोभिड-१९ विरूद्धको पहिलो मात्रा लगाएका कैलालीका ४६ हजार २ सय १७ व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन्। सरकारले भारतबाट प्राप्त कोभिसिल्ड, चीनबाट प्राप्त भेरोसेल, अमेरिकाबाट प्राप्त जोन्सन एण्ड जोन्सन र जापानबाट प्राप्त एस्ट्राजेनेका खोप लगाउँदै आएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका कैलालीका खोप सुपरभाइजर प्रदीप जोशीका अनुसार जिल्लामा हालसम्म १ लाख ८ हजार ६ सय ५ जनाले कोभिड विरूद्धको खोप लगाएका छन्। 

जसमध्ये ६२ हजार ३ सय ८८ जनाले पहिलो र दोस्रो गरी दुवै डोज प्राप्त गरेका छन् भने ४६ हजार २ सय १७ जनाले पहिलापछि दोस्रो डोज खोप लगाउन पाएका छैनन्।  

पहिलो र दोस्रो डोज गरी ४९ हजार ३ सय ६ जनाले कोभिडसिल्ड खोप लगाएका छन्। यस्तै, भेरोसिलको पनि पहिलो र दोस्रो गरी १३ हजार ८२ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्यांक छ।

अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सन खोप ४६ हजार २ सय १७ जनालाई लगाइएको छ। स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर प्रदीप जोशीले दोस्रो डोज खोपको पर्खाइमा रहेकाहरूलाई खोप दिने तयारी भइरहेको बताए।

उनले भेरोसिलको पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो डोजको खोप भदौ ७ सोमबारदेखि लगाइने बताए।  

कैलालीमा ९ लाख जति जनसंख्या रहेको छ। १८ वर्षमाथिकालाई खोप लगाउने व्यवस्थाअनुरूप ७ देखि ८ लाख जना जतिलाई कोरोना विरूद्धको खोप लगाउने लक्ष्य रहेको खोप सुपरभाइजर जोशीले बताए।