दार्चुला तुइन प्रकरण: प्रतिवेदन लेख्नका लागी पटक पटक म्याद थप

दार्चुला तुइन प्रकरण: प्रतिवेदन लेख्नका लागी पटक पटक म्याद थप

सरकारले महाकाली नदी तर्ने क्रममा वेपत्ता भएका जयसिंह धामीको मृत्यु सम्बन्धमा छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न ढिलाई गरेको छ । छानविन टोली काठमाडौं फर्किएपनि प्रतिवेदन लेख्नका लागि भन्दै तेस्रोपटक समय थप गरिएको छ ।

गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुला व्यास २ का जयसिंह धामीको भारतीय सुरक्षाकर्मी एसएसबीका जवानहरूले तुइन काटीदिएपछि नदीमा खसेर बेपत्ता भएका थिए । यो घटनाको छिटो सत्य तथ्य सार्वजनिक गर्न सांसदहरुले माग गरिरहेका छन् गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले छानविनका लागि समितिलाई भदौ ९ गतेसम्मका लागि म्याद थप गरेको बताए ।

उनले काठमाडौंबाट टाढाको घटना भएकोले अध्ययनका लागि समय लाग्ने भन्दै म्याद थपेको र  समितिले छानविन सकेपछि प्रतिवेदन सार्वजनिक गर्ने उल्लेख गरे ।  सरकारले सुरुमा एक सातामा अनुसन्धान गर्ने र बाटोको लागि ३ दिन समय सहित १० दिनको समय दिएको थियो । तर सो समयभन्दा बाहेक थप २ पटक गरेर १४ दिनको म्याद थप गरेको छ । यसरी म्याद थप्दै जाने र प्रतिवेदन नआउँदा छानविन प्रभावित हुने त हैन भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा अन्तरगतको राज्यव्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले यसबारे पहिला पनि गृहमन्त्रीसँग कुरा गरेको बताइन् । उनले समितिले फेरि दार्चुला घटनाको बारेमा सरकारले छानविनको काम के गर्दैछ यसबारे जानकारी माग्न छिट्टै बैठक बोलाउने उल्लेख गरिन् । घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरुले भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएका कारण जयसिंह महाकालीमा वेपत्ता भएको बयान दिइसकेका छन् । सो घटनाको छानबिन गर्न बनेको समितिमा प्रहरी नायव महानिरीक्षक (डीआईजी)पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।