सुदूर पश्चिमका नेताहरुले नेता भीम रावल समाजवादीमा नआए साथ नदिने

सुदूर पश्चिमका नेताहरुले नेता भीम रावल समाजवादीमा नआए साथ नदिने

नेता भीम रावल केही दिनमै माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकिकृत समाजवादी) मा आउने दृढ विश्वासमा रहेका सुदूर पश्चिमका नेताहरुले उनी समाजवादीमा नआए साथ नदिने प्रष्ट पारेका छन् ।

उहाँ पार्टी एकता र १० बूँदे सहमती कार्यान्वयनको पक्षमा हुनुहुन्छ । अहिलेसम्म उहाँ कुनै पार्टीमा हुनुहुन्न । अध्यक्ष ओलीले १० बूँदे सहमती कार्यान्वयन गर्ने अवस्था देखिदैन, रावल निकट एक नेताले भने, त्यो नभए उहाँ समाजवादीमै आउनु हुने छ । उहाँसंग रहेका अन्य नेताहरु पनि केही दिनमै समाजवादीमा आउनु हुनेछ ।

हामी पार्टी एकताका पक्षमा छौ । तर अध्यक्ष केपी शर्मा ओली २०७५ जेठमा नफर्किए पार्टी एकता संभव छैन, प्रदेश सभा सदस्य तथा ओलीद्धारा अपदस्थ गरिएका नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङले पश्चिम टुडेसंगको कुराकानीमा भने, बिगतमा अकारण जिम्मेवारीबाट हटाईएका नेताहरुको पुनःस्र्थापना बिना एकता हुन सक्दैन ।

ओलीले माधव नेपाल समूहमा लागेको भन्दै सुदूर पश्चिमका नौ जिल्ला मध्ये ६ जिल्लाका अध्यक्षलाई जिम्मेवारी मुक्त गरेका थिए । अध्यक्ष पदबाट ओलीद्धारा हटाईएकामा रावलको अत्यन्त निकट मानिने अछामका शेर बहादुर कुवँर पनि हुन् ।

कञ्चनपुरका तारा लामा तामाङ, डडेल्धुराका डा. तारा जोशी, कैलालीका दीर्घ सोडारी, डोटीका चक्र मल्ल, बझाङका दिल बहादुर सिंह जिल्ला अध्यक्षबाट हटाईएका थिए । 

उनीहरु केद्रमा माधव नेपाल र प्रदेशमा भीम रावललाई साथ दिएका कारण अध्यक्ष ओलीद्धारा जिम्मेवारीबाट मुक्त गरिएका हुन् ।

ओलीको प्रतिशोधको शिकार हुनेमा स्वयम रावल पनि पर्छन । पार्टी एकतापछि र एकता अघि सुदूर पश्चिम ईञ्चार्ज रहेका रावल पार्टीको केन्द्रीय उपाध्यक्ष समेत थिए । तर ओलीले रावललाई ती सबै जिम्मेवारीबाट मुक्त गरेका छन् । सुदूर पश्चिममा नेकपा एमालेको ईञ्चार्ज लेखराज भट्टलाई बनाएका ओलीले माधव पक्षमा लागेका केन्द्र, प्रदेश, जिल्ला र नगर कमिटिको जिम्मेवारीमा रहेका सबैलाई अपदस्थ गर्दै आफ्ना समर्थकलाई जिम्मेवारी दिएका छन् ।

सुदूर पश्चिम प्रदेश सभा सदस्य तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले आफूहरु कुनै व्यक्तिका पछि नलागेको तर अतिवाद र प्रतिगमनका बिपक्षमा रहेको स्पष्ट पारिन ।

समाजवादी पार्टीको केन्द्रीय सदस्य रहेकी जोशीले बिधि, पद्धति, मूल्य र मान्यताको राजनीतिका पक्षमा रहेको बताईन ।
हामी हिजो प्रतिगमन र अतिवादका विपक्षमा थियौ । प्रतिगमन सच्चिएपनि अतिवाद उस्तै छ, पश्चिम टुडेसंगको कुराकानीमा जोशीले भनिन, पार्टीको एकताका पक्षमा हामी पनि हौ । तर एउटा पक्षलाई पेलेर वा सफाया गरेर पार्टी एकता संभव छैन ।

बिगतमा सुदूर पश्चिममा रावललाई साथ दिएका जोशीसंगै अन्य नेपाल पक्षधर नेताहरुले नेता रावल नयाँ पार्टीमा आउने विश्वास गरेका छन् । 

केन्द्रमा माधव नेपालको पक्षमा रहेपनि सुदूर पश्चिममा रावललाई साथ दिदै आएका नेताहरुले केही दिनमा रावल एकिकृत समाजवादीमा फर्किने विश्वास गरेका हुन् ।

रावल अहिलेसम्म कुनै समूहमा खुलेका छैनन । बिगतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचक रहेका रावल कार्यदलको संयोजक बनेपछि भने ओली प्रति नरम र नेपाल प्रति कठोर  देखिन्छन् । उनले अहिलेसम्म आफू एकताको पक्षमा रहेको बताउदै आएका छन् । सोही कारण नेपाल पक्षधरहरु रावलसंग असन्तुष्ट छन् । 

ओलीद्धारा अपदस्थ गरिएका अछामका नेता शेर बहादुर कुवँर सुदूरपश्चिममा रावलका सबैभन्दा निकट नेताका रुपमा चिनिन्छन । रावल पछिल्लो समय ओली प्रति नरम र नेपाल प्रति कठोर भएकोमा कुवँर पनि असन्तुष्ट छन् । रावललाई साथ दिएका कारण ओलीले आफूलाई अपदस्थ गरेको कुवँरको बुझाई छ । त्यही कारण कुवँरले माधव नेपाललाई भेटेर रावल समाजवादीमा आए पनि नआएपनि आफू चाही समाजवादीमा रहने प्रतिबद्धता गरेको स्रोतले बतायो ।