अफगानिस्तानमा अलपत्र नेपालीद्धारा उद्धारको आग्रह, ५ सय ४ जना नेपाली स्वदेश फर्किए

अफगानिस्तानमा अलपत्र नेपालीद्धारा उद्धारको आग्रह, ५ सय ४ जना नेपाली स्वदेश फर्किए

अफगानिस्तानमा अलपत्र नेपालीहरुले छिटो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । दूतावास र ठूला कम्पनीमा काम गर्नेहरुलाई सम्बन्धित देश र कम्पनीले उद्धार गरिरहे पनि साना कम्पनीमा काम गर्ने र कामविहीन नेपालीको भने उद्धार हुन सकेको छैन ।

उद्धारका लागि सरकारले भनेअनुसार विवरण टिपाए पनि आफूहरु अझै अलपत्र परेको उनीहरुको गुनासो छ । अफगानिस्तानबाट अहिलेसम्म ५ सय ४ जना नेपाली स्वदेश फर्किएका सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार हिजो बेलुकीसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको वेब पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् । 

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धार गर्न मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । 

कार्यदलको सातौँ बैठक बसेको जानकारी दिँदै परराष्ट्र मन्त्रालयले उद्धार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रसँगको समन्वय, उद्धारपछिको स्वदेश फिर्ती आदिको अद्यावधिक विवरण एवं पछिल्लो अवस्थाका बारेमा छलफल भएको हो । 

काबुलमा नागरिक उड्डयन सेवाको हवाई जहाज आगमन अवतरण खुली नसकेकोसमेत मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले उपलब्ध गराइएको अनलाइन पोर्टल भाइबर, ह्वाट्सएपमा आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।