गजेन्द्रनारायण सिंह अस्पतालमा ३ सातादेखि पीसीआर परीक्षण बन्द

गजेन्द्रनारायण सिंह अस्पतालमा ३ सातादेखि पीसीआर परीक्षण बन्द

सप्तरी जिल्लास्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पीसीआर परीक्षण अझै सुचारु हुन सकेको छैन । पीसीआर मेसिन बिग्रिएको तीन साता पुग्दा पनि मर्मत वा नयाँ खरिद नभएपछि परीक्षण कार्य ठप्प छ । 

गत साउनको दोस्रो सातादेखि सो पीसीआर मेसिनमा प्राविधिक समस्या देखिएको थियो । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढिरहेको बेला अस्पतालमा पीसीआर परीक्षण नै रोकिएपछि बिरामीलाई समस्या भएको छ । 
 
अस्पतालका डाक्टर रणजीतकुमार झाले उपकरणमा प्राविधिक समस्या देखिएपछि परीक्षण रोकिएको जानकारी दिँदै मर्मतको  प्रयास भइरहेको जानकारी दिए । 
उनले प्रदेश २ का स्वास्थ्य निर्देशनालय र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई जानकारी गराएको बताए ।