डिभिजन वन कार्यालय बैतडीको राजस्वमा वृद्धि

डिभिजन वन कार्यालय बैतडीको राजस्वमा वृद्धि

बैतडी । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा डिभिजन वन कार्यालय, बैतडीको राजस्व आम्दानी बढेको छ । कार्यालयले गत आवमा अघिल्लो आव २०७६÷७७ को भन्दा ९ लाख १५ हजार ४११ रुपैयाँ बढी राजस्व संकलन गरेको हो ।

अघिल्लो आवमा कार्यालयले २०७६/७७ मा ३ लाख ३८ हजार ८११ रुपैयाँ राजस्व असुली गरेकोमा गत आवमा १२ लाख ५४ हजार २२२ रुपैयाँ राजस्व उठाएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले अघिल्लो आवमा विक्री हुन नपाएको गैरकाष्ठ वनपैदावार गत आवमै विक्री गरिएकाले राजस्वमा वृद्धि भएको डिभिजन वन कार्यालय, बैतडीका सूचना अधिकारी श्यामसुन्दर माझीले बताए । ‘गत आर्थिक वर्षमा पञ्चवर्षीय योजना पनि स्वीकृत भयो । यसले गर्दा गैर काष्ठ वनपैदावारको मात्र बढी विक्री भएकाले राजस्व बढेको हो,’ उनले भने । यसैगरी कार्यालयले गत आवमा प्रदेशको पूँजीगत खर्चभन्दा संघबाट प्राप्त पूँजीगत बजेट बढी खर्च गरेको छ । चालूतर्फ भने संघको भन्दा प्रदेशको बढी खर्च भएको पाइएको छ ।

कार्यालयले प्रदेशको पूँजीगत बजेटको ७६ दशमलव १३ प्रतिशत र संघबाट प्राप्त पूँजीगत बजेटको ९७ दशमलव ३० प्रतिशत खर्च गरेको छ । यस्तै प्रदेशको चालूतर्फ ९० प्रतिशत र संघको चालूतर्फ ८४ दशमलव ३ प्रतिशत खर्च गरेको छ ।

संघको पूँजीगत बजेट ५० लाख ४० हजारमध्ये ४९ लाख ४ हजार ३४० रुपैयाँ खर्च र प्रदेशबाट प्राप्त पूँजीगत बजेट ३ करोड २२ लाख ५५ हजारमध्ये २ करोड ४५ लाख ५८ हजार ५३६ रुपयाँ खर्च भएको हो । यस्तै संघको चालूतर्फ १ करोड ६० लाख ४ हजारमध्ये ८९ लाख ११ हजार ३७१ रुपैयाँ र प्रदेशको चालू ११ करोड ४७ लाख ३१ हजारमध्ये १० करोड ३३ लाख ५ हजार ३४५ रुपैयाँ खर्च भएको कार्यालयले बताएको छ ।