घरेलु तथा साना उद्योग कार्यालय बैतडीको राजस्वमा आधाले कमी

घरेलु तथा साना उद्योग कार्यालय बैतडीको राजस्वमा आधाले कमी

बैतडी । घरेलु तथा साना उद्योग कार्याय बैतडीको गत आर्थिक वर्षको राजस्वमा आधाले कमी आएको छ । प्रत्येक वर्ष उद्योगहरु दर्ताको संख्यामा वृद्धि भएपनि कार्यालयको राजस्वमा कमी आएको छ । 

कार्यालयको गत आर्थिक वर्षको राजस्वमा आर्थिक वर्ष ०७६/७७ को भन्दा आधाले घटेको छ । राजस्व घटेपनि पनि उद्योगहरुको संख्यामा भने आर्थिक वर्ष ०७६/०७७ को भन्दा गत वर्षमा आधाभन्दा बढिले वृद्धि भएको पाइएको छ ।

कार्यालयमा आर्थिक वर्ष ०७६/०७७ मा उद्योगतर्फको कुल राजस्व रू. १६ लाख ६ हजार २०० थियो भने गत वर्षमा घटेर रू. ८ लाख ८० हजार ३५० मात्र संकलन भएको छ । यस्तै वाणिज्यतर्फ पनि आर्थिक वर्ष ०७६/०७७ मा रू. २० लाख १६ हजार ८०० छ भने गत वर्षमा घटेर रू. ९ लाख ६५ हजार ५५० मात्र संकलन भएको छ ।

आर्थिक वर्ष ०७६/०७७ मा उद्योगतर्फ २५६ उद्योग दर्ता भएका थिए भने गत वर्ष बढेर ८४९ उद्योग दर्ता भएका छन् । यसैगरी वाणिज्यतर्फ आर्थिक वर्ष ०७६/०७७ मा ३३१ ओटा उद्योग दर्ता भएका थिए भने गत वर्षमा बढेर ६८० उद्योग दर्ता भएका छन् ।

गत आर्थिक वर्षमा सरकारले उद्योग दर्ता गरेर काम गर्ने महिला र पुरुषलाई राजस्वमा छूट गरेको कारणले गत वर्षमा राजस्वमा कमी आएको घरेलु तथा साना उद्योग कार्यालय बैतडीका प्रमुख अम्बादत्त जोशीले बताए ।

गत आर्थिक वर्षदेखि एक लाखसम्म पूँजी भएको महिलाको नाममा उद्योग दर्ता भएमा दर्ता शुल्क रू. ६०० लाग्छ भने पुरुषको नाममा दर्ता भएमा रू. १ हजार १०० दर्ता शुल्क लाग्नेछ । 

यस्तै, रू. १० लाख देखि रू. ५० लाख पूँजी भएको उद्योग महिलाको नाममा दर्ता भएमा रू. दुई हजार ६०० र पुरुषको नाममा दर्ता भएमा रू. ५ हजार १०० मात्र दर्ता शुल्क लाग्ने कार्यालयले जानकारी दिएको छ ।