नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

नेपाली क्रिकेट राष्ट्रिय टिमको नयाँ जर्सी सोमबार सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टिमको मुख्य प्रायोजक माई फस्ट टिचरका प्रतिनिधिले सोमबार सँयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् ।

क्यानले नयाँ जर्सीको डिजाइनका लागि खुला प्रतियोगिता गरेको थियो । जसमा करिब ५ सय डिजाइन क्यानलाई प्राप्त भएका थिए । ती मध्ये आदर्श पोखरेलले बनाएको डिजाइन छनौट भएको क्यानले जनाएको छ । पोखरेलले क्यानबाट नगद पुरस्कारसमेत पाएका छन् ।

पपुवा न्युगिनीसँगको दुई खेलको ओडीआईको श्रृंखला र अमेरिका, ओमानसँगको त्रिकोणीय श्रृंखला खेल्न नेपाली टिम ओमानतर्फ जाँदैछ । टिम ओमान जानुअघि टिमले नयाँ जर्सी पाएको हो । ओमानमा अब नेपाली क्रिकेट टिम नयाँ जर्सीका साथ मैदानमा उत्रिने छ ।