एकसिंगे गैंडा मारेको आरोपमा ५ जनाविरुद्ध मुद्दा दायरको प्रक्रिया सुरु

एकसिंगे गैंडा मारेको आरोपमा ५ जनाविरुद्ध मुद्दा दायरको प्रक्रिया सुरु

एकसिंगे गैंडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले पाँच जनाविरुद्ध सोमबार नवलपुर जिल्ला अदालतमा मुद्दा दायरको प्रक्रिया सुरु गरेको छ । उनीहरू दुई वर्षअघि निकुञ्जको पश्चिम क्षेत्रमा गैंडा मार्ने र खाग बेच्ने काममा संलग्न भएको निकुञ्जको अनुसन्धानले देखाएको छ ।

निकुञ्जले जाजरकोटको शिवालय–२ डुंग्रा गाउँका २७ वर्षीय वीरबहादुर बस्नेत, मकवानपुरको वाग्मती–३ पाँचपाण्डवका नवीन पौडेल भनिने ३५ वर्षीय मेखबहादुर नेपाली र चितवनको खैरहनी–६ रिजाल टोलका २५ वर्षीय आरोस उप्रेतीविरुद्ध मुद्दा चलाउन लागेको हो ।

यसअघि गैंडा मुद्दामा पक्राउ परेर भरतपुर कारागारमा रहेका भरतपुर–२८ का रणबहादुर भनिने जितबहादुर कुमाल र तारा चेपाङलाई निकुञ्जले थप गैंडा मारेको अभियोग लगाएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार २०७६ भदौ ३१ मा निकुञ्जको पश्चिम क्षेत्र मर्दीघोल नजिक मृत भेटिएको भाले गैंडाको खाग बेचेको आरोपमा उनीहरू समातिएका हुन् ।

निकुञ्ज कार्यालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले यो घटनामा जोडिएका अन्य १० जना फरार रहेको जानकारी दिए । गत वर्ष निकुञ्जभित्र तस्करहरूले मारेका गैंडा भटाभट फेला परे । त्यो बेला निकुञ्जका अधिकारीहरू २०७३ चैत २६ यता चोरी सिकारीले गैडा नमारेको विवरण सुनाउने गर्थे । ‘दुई वर्षअघि मर्दीघोलमा गैंडाको हाडखोर भेटिएको थियो । त्यसलाई तस्करहरूले मारेका हुन् वा होइनन् यसै भन्न सक्ने अवस्था थिएन । अहिले मान्छेहरू समातिएर बयान गर्दा खागका लागि मारेको पक्का भयो,’ बरालले भने ।