एमाले स्थायी कमिटी बैठकमा गए नेपाल पक्षबाट अलग्गिएका नेता

एमाले स्थायी कमिटी बैठकमा गए नेपाल पक्षबाट अलग्गिएका नेता

नेकपा (एमाले)मा लामो समयदेखि असन्तुष्ट रहँदै आएका नेताहरू स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । पार्टीभित्रको विवादमा माधवकुमार नेपालको पक्षमा रहेका र पछिल्लो समय नेपालाई पनि छोडेर तेस्रो धार बनाएका नेताहरू अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी भएका हुन् ।

मंगलबार ललितपुरको च्यासलमा सुरु भएको स्थायी कमिटी बैठकमा उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, रघुजीपन्तलगायत बैठकमा सहभागी भएका हुन् ।

अध्यक्ष ओलीसँग सोमबार बालकोटमा छलफल गरेर उनीहरू स्थायी कमिटी बैठकमा सहभागी हुन तयार भएका थिए । बालकोटको बैठकले असार २८ गते दुवै पक्षले गठन गरेको कार्यदलको १० बुँदे सहमति पत्र कार्यान्वयन गर्ने र त्यसका लागि संगठन एकता कार्यतालिका जारी गर्ने लगायतका सहमति भएको सचिव योगेश भट्टराईले बताएका थिए ।

यसअघि २०७५ जेठ २ गतेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा मात्रै सहभागी हुने भन्ने अडान लिँदै आएका उपाध्यक्ष रावललगायतका नेताहरू आज भने पूर्वमाओवादीका नेतासमेत रहेको स्थायी कमिटी बैठकमा सहभागी भएका हुन् । आजको बैठकमा पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी छन् ।