१० बुँदे सहमति कार्यान्वयन गर्ने एमालेको निर्णय, सात सदस्यीय कार्यदल गठन

१० बुँदे सहमति कार्यान्वयन गर्ने एमालेको निर्णय, सात सदस्यीय कार्यदल गठन

नेकपा एमाले स्थायी कमिटी बैठकले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल छोडेका दश स्थायी कमिटी नेताहरु सहित बसेको बैठकले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील हुने सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल बनाइएको छ ।

कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

१०–१२ मंसिरमा दशौं महाधिवेशन र ४–६ असोजमा विधान महाधिवेशन गर्ने निर्णय भएको छ । बैठकले एमालेको पार्टी सदस्यता २ जेठ २०७५ अगाडिको आधारबाट अगाडि बढाइने भएको छ । सदस्यता नवीकरण असोज मसान्तभित्र गरिने निर्णय भएको ज्ञवालीले बताए ।

बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरुको भेला गर्ने पनि एमालेले निर्णय गरेको छ । त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।