जबरजस्ती करणी उद्योगमा पक्राउ परेका गाउँपालिकाका अध्यक्ष धरौटीमा छुटे

जबरजस्ती करणी उद्योगमा पक्राउ परेका गाउँपालिकाका अध्यक्ष धरौटीमा छुटे

जबरजस्ती करणी उद्योगमा पक्राउ परेका रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला धरौटीमा छुटेका छन् ।

उनी मंगलबार ५ लाख ५० हजार रुपैयाँ धरौटी राखी छुटेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए । ‘मुद्दा चलिरहेको छ,’ उनले भने, ‘अहिले धरौटीमा छुटेका हुन् ।’


गत साउन २४ गते अध्यक्ष शुक्लाले एक व्यक्तिलाई स्थानीय महिलाको घरमा पठाई आफ्नो घरमा ल्याउन भनेका थिए । उनको घर पुगेकी महिलालाई कोठामा थुनेर करणी गर्ने प्रयास गर्दा महिला भागेकी थिइन् । चोरी आरोपमा पक्राउ परेका श्रीमान्लाई छुटाइदिने र पैसासमेत दिने प्रलोभन देखाई शुक्लाले करणी गर्न खोजेको महिलाद्वारा दिइएको उजुरीमा उल्लेख थियो । पीडित महिलाले अध्यक्ष र उनका सहयोगीलाई समेत पक्राउ गरी कारबाही गर्न माग गर्दै उजुरी दिएकी थिइन् ।

साउन २७ गते जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको उजुरीका आधारमा गाउँपालिका अध्यक्ष शुक्लालाई नियन्त्रणमा लिई करणी उद्योगअन्तर्गत मुद्दा चलाइएको हो । सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष शुक्ला स्वतन्त्र रूपमा चुनाव लडी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।