सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरूमा अत्याधिक भिडभाड, कोरोनाको जोखिम बढ्यो

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरूमा अत्याधिक भिडभाड, कोरोनाको जोखिम बढ्यो

अहिले सुदूरपश्चिम प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रहरूमा चहलपहल निकै बढेको छ । सरकारले कोरोना सङ्क्रमण रोकथाम गर्नको लागि जारी गरिएको निषेधाज्ञा केही खुकुलो भए सँगै पर्यटकीय धार्मिक क्षेत्रमा चहलपहल बढेको हो । अहिले डोटीको जोरायल गाउँपालिकामा पर्ने छहरा झरना, कञ्चनपुरको महाकाली छेउमा रहेको भाइरल रोड, कैलालीको चिसापानी, हाडखोली क्षेत्रमा दैनिक सयौँ मानिसको भिड लाग्ने गरेको छ ।

कोरोनाको कहर कायमै रहेका बेला कुनै स्वास्थ्य मापदण्ड नअपनाउँदा भने फेरि संक्रमणदर फैलिने खतरा बढेको छ । ‘सरकारले भनेको स्वास्थ्य मापदण्डको पालना गरेको देखिँदैन,’ धनगढीका स्थानीय महेन्द्र राज जोशीले भने, त्यसमा स्थानीय प्रशासनले कुनै चासो देखाएको छैन् ,त्यस कारण संक्रमणदर बढ्ने निश्चित छ ।’ उनले सरकारले ३ मिटरको दुरीमा बस्नुपर्ने भनिए पनि त्यो कार्यान्वयन भने हुन नसकेको बताए । 

डोटीको बुडरको छहरा झर्नामा दैनिक ४ देखि ५ सयको हाराहारीमा पर्यटक पुग्ने गरेका छन् भने शनिवार बिदाको दिन २ देखि ३ हजार सम्म पर्यटक पुग्ने गरेको जोरायल गाउँपालिकाले जनाएको छ । ‘अहिले दैनिक ४५ सय पर्यटक आइराख्नुहुन्छ,जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले भने,‘अझ बिदाको दिनमा २र३ हजार पर्यटनमै पुग्नुहुन्छ ।’ यसरी कोरोनाकै कहरमा स्थानीय प्रशासनले भिडभाड नगर्न आग्रह गरेपछि यसको व्यवस्थापनका लागि छलफल गरिरहेको अध्यक्ष ओझाले बताए । ‘एकाएक छहरा झर्ना निकै भाईरलनै भयो अहिले पनि पर्यटकहरू आउनेजानेक्रम चलिरहेकै अवस्था छ,’उनले भने,कोरोनाका जोखिम कायमै छ । हामी यसलाई व्यवस्थापन गर्न तर्फ लागिरहेका छौँ । हामी छिट्टै नै बैठक बसेर आवागमन रोक्ने या के गर्ने भन्ने विषयमा टुङ्गो लगाउँछौँ ।’


यस्तै कञ्चनपुरको महाकाली नदी किनारको भाइरल रोडमा पनि दिनहुँ भिडभाड बढ्दै गएको छ । अझ शनिवार र अन्य बिदाका दिन यहाँ मेला महोत्सवजस्तै भीड लाग्छ । यही भीडबाट सङ्क्रमण पुनः फैलिने जोखिमसमेत बढेको छ । यहाँ घुम्न आएकाहरूले नत मास्क लगाएका हुन्छन्, न भौतिक दुरी नै बनाएका हुन्छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले भिडभाड कम गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै आइरहेको बताए  । ‘हामीले भिडभाड कम गर्नुस्, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुस् भन्दै आएका छौँ, यही अनुसार सूचना पनि जारी गरिरहेका छौँ,’ प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले भने, ‘अब सङ्क्रमण बढ्दै गए कडाइ गर्दै जाने र अन्तिममा लकडाउनमै जाने हो ।’ भाइरल रोडमा बढ्दै गएको भीड नियन्त्रणतर्फ पनि कडाइका साथ जाने बताए । यस्तै बढी भिडभाड हुने क्षेत्रमा आफूहरूले मास्क वितरण समेत गर्दै आइरहेको उनको भनाई छ ।

भाइरल बन्यो महाकाली नदी किनारको छ लेनको रोड 
यता कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले भने कोरोनाबाट बचाउनकै लागि कैलालीमा पनि प्रहरीले ‘तपाईंको माक्स खै ?’ अभियान चलाएको बताए । ‘हामीले बाटो(बाटोमा चेक गरेर मास्क नलगाउनेलाई जरिवानासमेत गर्ने गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘प्रहरी नपुगेको ठाउँमा सुरक्षाका मापदण्ड नअपनाएको हुनसक्छ । चिसापानी पुल, हाटखोली क्षेत्रमा पनि अब प्रहरी परिचालन गर्छौँ ।’ अहिले कैलाली लगायत सुदूरपश्चिमका बाकी जिल्लामाहरुमा कोरोना संक्रमणदर कम गर्न सरकारले जारी गरेको निषेधाज्ञालाई निरन्तरता दिईरहेका छन् ।