नयाँ दल दर्तासँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

नयाँ दल दर्तासँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ । नेपालको दललाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने यसअघि नै सहमति भइसकेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्ति भएको डेढ महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन । एमालेबाट अलग भएका माधव नेपालको नयाँ पार्टी दर्ता भएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने उहाँको तयारी थियो।

माधव नेपाल र महन्थ ठाकुरलाई नयाँ दल गठनमा सहज हुने गरी अध्यादेश ल्याएपछि निर्वाचन आयोगले हिजो नेताहरुको सनाखत गरेर दुवै दललाई मान्यता दिएको छ । अब सत्ता गठबन्धनमा कांग्रेसका ६१, माओवादीका ४९, एकीकृत समाजवादीका २३ र जसपाका १९ सहित १ सय ५२ सांसद पुगेका छन् ।

प्रमुख प्रतिपक्ष एमालेमा अब ९८ सांसद भएका छन् । निर्वाचन आयोगले हिजो नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता दिएको हो ।