सङ्क्रमण घटाउन उपत्यकाका अनुगमन कार्य तीव्रता

सङ्क्रमण घटाउन उपत्यकाका अनुगमन कार्य तीव्रता

कोभिड–१९ महामारीको सङ्क्रमण घटाउन काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले अनुगमन कार्यलाई तीव्रता दिने भएका छन् ।
गत वैशाख १५ बाट उपत्यकामा जारी परिमार्जित निषेधाज्ञा भदौ १६ सम्म लम्बिएसँगै अनुगमनमा तीव्रता दिइएको हो ।


काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बजार व्यवसाय तथा सार्वजनिक सेवाको अनुगमनलाई नियमित र तीव्र पारिने बताउनु भयो ।उहाँले स्वास्थ्य मापदण्डको प्रभावकारी पालना नभई सङ्क्रमण बढ्न गएमा कुनै पनि बेला कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश पूर्ण रूपमा लागू हुन सक्नेप्रति सतर्क र सजग गराउँदै सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षाकर्मीसहित नियमित तथा आकस्मिक अनुगमन भइरहेको बताउनुभयो ।

त्यस्तै उहाँले सार्वजनिक यातायात, उद्योग व्यवसाय, बजार, बस्ती, पसल, सडक, चोकलगायतका क्षेत्रमा मास्क प्रयोग अनिवार्य, सेनिटाइजर र भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालनामा विशेष जोड दिइएको जानकारी दिनुभयो ।

घरबाहिर निस्कँदा मास्क प्रयोगसँगै सडक फुटपाथदेखि घरपसल तथा सार्वजनिक स्थानमा दुई व्यक्तिबीच दुई मिटरको भौतिक दूरी अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले विशेष किसिमको सभा तथा सम्मेलन गर्नु परेमा हल तथा कोठाको आकारअनुसार २५ जनाभन्दा बढी भेला नहुने गरी औपचारिक छलफल, गोष्ठी र परीक्षा सञ्चालन गर्न सकिने बताउनुभयो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख हरिबहादुर पालले कोभिड–१९ नियन्त्रण अनुगमनका क्रममा मास्क प्रयोग र भौतिक दूरी पालना नगर्नेविरुद्ध कारबाही नै सुरु गरेको बताउनुभयो ।

मास्क नलगाउनेलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ भने भौतिक दूरी पालना नगर्ने व्यापार व्यवसाय सञ्चालक तथा ग्राहकलाई सचेत गराइएको यो समाचार गोरखापत्रमा प्रकाशित छ।